काठमाडौं । नेपाली कांग्रेसको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना भएको छ । केन्द्रीय समितिको बैठकमा बोल्दै नेताहरुले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।
बैठकमा धारणा राख्दै नेता दिलेन्द्र बडूले प्रधानमन्त्रीको भनाइमा समीक्षा गर्न माग गरे । उनले राष्ट्रियसभाको उम्मेदवार मापदण्डको आधारमा चयन गर्न पनि नेतृत्वसँग माग गरे ।
उनले भने, ‘राष्ट्रियसभामा कति पाउँछौं, केका आधारमा पाउँछौं ? अहिलेसम्म नपाएकोलाई प्राथामिकता दिऔं ।’
अर्का नेता राजीव कोइरालाले सरकार भएको अनुभूति गर्न नपाएको टिप्पणी गरे । उनले भने, ‘सरकारको अपजस हामीले अनि जस कसले लिने ? हाम्रा मन्त्री गुटका आधारमा काम गर्ने भए ।’
अर्का नेता नैनसिंह महरले पनि तीनै तहका सरकारको समीक्षा गर्न माग गरे । उनले केन्द्रीय समितिको बैठकलाई कर्मकाण्डी नबनाउन आग्रह गरे ।
अर्का नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री आफैं छटपटाएकाले सरकारको डिफेन्स हुन नसकेको बताए ।
नेतृ मुक्ताकुमारी यादवले पनि सरकारमा पार्टीका मन्त्रीहरु भएको अनुभूति गर्न नपाएको गुनासो गरिन् ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रियसभामा उम्मेदवार चयनदेखि सरकारको विषयमा धारणा राखेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
उनले भने, ‘उम्मेदवार चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई निरन्तर दोहोर्याइरहने र कसैले कहिल्यै पनि अवसर नपाउने नहोस्, पार्टीले खोजेरै भए पनि मूल्यांकन गरेर न्याय गरोस् भन्ने छ ।’
प्रमुख विश्वकर्माले मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको बताउँदै प्रधानमन्त्रीले चाहे आफूहरु बाधक नबन्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक हुन्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो । गठबन्धनको सरकार भएकाले दलहरुबीच सहमतिमा जतिबेला पनि गर्न सक्नुहुन्छ ।’
यस्तै, बैठकमा सहकारीमार्फत जनताको रकम अपचलन गर्नेमाथि पनि कारबाही हुनुपर्ने आवाज उठेको नेता विश्वकर्माले बताए ।
सरकारले स्वीकृति दिएर खोलेका सहकारीहरुले जनतालाई ठग्न नपाउने उनको भनाइ थियो ।

Leave a Reply