काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सीटीईभीटीमा निमित्त सदस्य सचिवको जिम्मेवारीमा रहेका भट्टराईलाई सदस्य सचिव नियुक्त गरेको हो ।
सीटीईभीटीको सदस्य सचिव नियुक्तिका लागि राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले गत मंसिर २५ गते भट्टराईसँगै टेकबहादुर मल्ल र विनोद बडालको नाम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।
सिफारिस भएका तीन जनामध्ये सदस्य सचिवका लागि भट्टराईलाई उपयुक्त ठानेर मन्त्रिपरिषद् बैठकले सदस्य सचिव नियुक्त गरेको हो ।
गत असोजमा रिक्त सदस्य सचिव पदमा नियुक्तिका लागि आयोगका सदस्य पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो । समितिले आवेदन माग गरेकोमामा ८ जनाको नाम छोटो सूची (सर्ट लिस्ट)मा पार्दै मंसिर ८ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ मा परिषद्मा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त सदस्य सचिव दिने व्यवस्था अनुसार नै भट्टराईले दुई महिनादेखि नै निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रतिस्पर्धामा रहेकामध्ये बलिया दाबेदारका रूपमा रहेका निमित्त सदस्य सचिव भट्टराई विगत १२ वर्षदेखि सहसचिव सरहको जिम्मेवारीमा रहेर परिषद्मा काम गर्दै आएका छन् ।
प्राविधिकतर्फ ईन्जिनियर भट्टराई प्रतिस्पर्धामा रहेका आठ जना जनामध्ये सबैभन्दा वरिष्ठ कर्मचारी पनि हुन् । भट्टराई यस अघि नियुक्त भएका तीन जना सदस्य सचिव जीवनारायण काफ्ले, पुष्परमण वाग्ले र रामहरि लामिछानेसँग प्रतिस्पर्धामा पनि थिए ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको पालामा नियुक्त भएका सदस्य–सचिव जीवनारायण काफ्लेको गत साउन चार गते ५८ वर्षे उमेर अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।
यद्यपि काफ्लेले उमेर ५८ पुरा भए पनि नियमावलीमा सदस्य सचिवको कार्यकाल चार वर्षे भएको भन्दै आफूले चार वर्षे कार्यकाल पुरा गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भदौ २१ गते सर्वोच्च अदालतले काफ्लेको विपक्षमा फैसला गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत भदौ २६ गते परिषद्का सबैभन्दा वरिष्ठ कर्मचारी महेश भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको थियो ।
नियमावली अनुसार राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरह पाँच वर्ष परिषद्मा सेवा गरेको कर्मचारीले सदस्य सचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । सीटीईभीटीको सदस्य सचिव शिक्षाको प्राविधिकतर्फको कर्मचारी नियुक्त गर्ने गरिएको छ ।

Leave a Reply