पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा १९ गते अभिनन्दन गरिने, १२ दिन पहिले पुगेर के गर्दैछन् शाह परिवार ?

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा साँस्कृतिक भ्रमणमा मात्रै होइन उनलाई उनी निकटले अभिनन्दन गर्ने तयारी भएपछि रुपन्देही आएका हुन् । त्यस्तै पुस १९ गते साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

पुस १९ गते अभिनन्दन गर्ने कार्यक्रमको मिति मंगलबार सार्वजनिक भएपनि उनी आइतबार नै रुपन्देही आएका थिए । हाल उनी रुपन्देहीको भैरहवामा बसेका छन् । मंगलबार बुटवल पुगेका उनको सबै कार्यक्रम समेत सुरक्षा निकायलाई जानकारी छैन ।

यहीबाट उनले कपिलवस्तु, पश्चिम नवलपरासी तथा रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

नागरिक अभिनन्दन समारोह मूल समिति रुपन्देहीले मंगलबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पूर्वराजाको भ्रमण कार्यक्रमबारे जानकारी गराएको छ ।

समितिका संयोजक डा. रामप्रसाद बस्यालले पुस १४ गते पूर्वराजा शाह कपिलवस्तु पुग्ने बताए । उनका अनुसार औपचारिक कार्यक्रम नरहे पनि त्यस क्षेत्रमा रहेका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा अवलोकन गर्ने रहेको छ । त्यस्तै पुस १७ गते पूर्वराजा पश्चिम नवलपरासी जाने कार्यक्रम रहेको छ ।

डा. बस्यालले भने, ‘जनता राजालाई स्वागत गर्न आतुर छन् । राजालाई मुलुकको अभिभावकको रुपमा चाहेका हौं, मुलुकमा हिन्दूराष्ट्र पुनःस्थापना गरी संघीयता खारेज गर्नुपर्छ । ’ श्रीमति कोमल शाहसहित आएका ज्ञानेन्द्र भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । उनीहरु रुपन्देहीमै रहेको निलकण्ठधाम, दर्बाहा मन्दिर, बुटवलको शिव मन्दिर, जितगढीलगायतको स्थानमा पुग्ने कार्यक्रम छ ।

शाहले मँगलबार भैरहवामा रहेको भाटभटेनी सुपर स्टोरमा पुगेर किनमेल गरेका छन् । भैरहवाको सुपरस्टोरमा श्रीमती तथा परिवारसहित पुगेका पूर्व राजा ज्ञानेन्द्रले केही लत्ताकपडा तथा खानेकुरा किन्नुका साथै केही समय अवलोकन गरी फर्किएका थिए ।

ज्ञानेन्द्र मंगलबार दिउसो बुटवलको ड्रिम इन्टरनेश्नल होटलमा २ घण्टा समय बिताएपछि भैरहवा पुगेर भाटभटेनी सुपरमार्केटमा किनमेल गर्न पुगेका थिए । आफ्नो व्यक्तिगत सुरक्षाकर्मीबाहेक जिल्लाका सुरक्षाकर्मीहरुलाई सकेसम्म जानकारी नै नदिई उनी भ्रमणमा हिंडेका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *