क्रिसमसमा ३ दिन बिदा दिने राक्सिराङ गाउँपालिकामा १०० वटा चर्च, चारजना वडाध्यक्ष नै पास्टर

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि तीव्र आलोचना खेप्नु परेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल भने निर्णय नसच्याउने अडानमा छन् ।

सरकारले क्रिसमसका अवसरमा भोलि सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । तर, राक्सिराङले भने आजैबाट तीन दिन क्रिसमसको बिदा दिएको हो । उल्लेखनीय के भने उधौली पर्वका अवसरमा १० गते सरकारले दिएको सार्वजनिक बिदालाई यो गाउँपालिकाले कार्यान्वयन गरेको छैन । १० गते पनि क्रिसमसकै बिदा दिइएको छ ।

कार्यपालिका बैठकले एकमतबाट क्रिसमसको तीन दिन बिदा दिने निर्णय गरेको अध्यक्ष मल्लले बताए । अघिल्ला वर्षहरुमा पनि एक दिनभन्दा बढी बिदा दिने गरेको उनको भनाइ छ ।

‘दुई दिन सरकारले नै सार्वजनिक बिदा दिएको छ । हामीले एक दिन अतिरिक्त दिएका हौं’, उनले भने, ‘२०७४ सालदेखि नै हामीले दुई दिन बिदा दिने गरेका थियौं ।’

आफ्नो गाविसमा क्रिश्चियन धर्मको बलियो प्रभुत्व रहेको र पैसा खर्चेर धर्मान्तरण हुने गरेको गाउँपालिका अध्यक्ष मल्ल स्वीकार्छन् । उनका अनुसार गाउँपालिकाभित्रै करिब १०० वटा चर्च निर्माण भएका छन् । चार जना वडाध्यक्ष नै क्रिश्चियन धर्मावलम्बी रहेको पनि उनले बताए ।

‘कार्यपालिकामा चार जना वडाध्यक्ष नै पास्टर हुनुहुन्छ । उहाँहरुले दुई दिन त सरकारी बिदा नै भयो, एक दिन थपौं न भनेपछि नाई भन्न सकिएन’, अध्यक्ष मल्लले भने । क्रिसमसमा तीन दिन बिदा दिँदा कसैले पनि चित्त दुःखाउनु नपर्ने समेत उनी बताउँछन् ।

‘हाम्रो दशैँतिहारमा पनि त धेरै दिन बिदा दिइन्छ, उहाँहरुले चित्त दुःखाउनुहुन्न । उहाँहरुको चाडमा पनि हामीले खुशीले बिदा दिएका हौं’, उनले भने । गाउँपालिका अध्यक्ष भने हिन्दू धर्मावलम्बी नै हुन् ।

राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको उल्लेख्य उपस्थिति छ । आर्थिक रुपमा विपन्न अधिकांश चेपाङहरुले आर्थिक प्रलोभनमा परेर धर्मान्तरण गरेका छन् । क्रिश्चियन धर्ममा लागेपछि उनीहरुको आर्थिक अवस्था र चालचलन दुवै सुध्रिएको गाउँपालिका अध्यक्षको दाबी छ ।

‘पहिले पहिले जाँडरक्सी खाएर लम्पसार हुन्थे । घर फोहोर हुन्थ्यो । क्रिश्चियन भएपछि उनीहरुले जाँडरक्सी खान छोडेका छन् । बोल्नमा ट्यालेन्ट र सफासुग्घर पनि भएका छन् । आर्थिक राहत पनि पाइरहेका छन् । मैले त सकारात्मक रुपमा नै लिएको छु’, उनले भने ।

Comments

2 responses to “क्रिसमसमा ३ दिन बिदा दिने राक्सिराङ गाउँपालिकामा १०० वटा चर्च, चारजना वडाध्यक्ष नै पास्टर”

  1. Rahini Avatar
    Rahini

    वेद पुराणले त झन् जांड रक्सि मासु छुंदैनछुनु भन्छ। तेति मत्रै काहां हो र, बेश्यावृति नगर्नु भन्छ। जुवातास नखेल्नु भन्छ। जांड रक्सि मासु छोड्न क्रिस्चियन बन्नु पर्दैन। धनको प्रलोभनमा परेर आफ्नो पुर्खा देखि चलिआएको धर्म संस्कृति परिवर्तन गर्नु अत्यन्त नराम्रो कुरा हो।

    1. Dilliram Bhusal Avatar
      Dilliram Bhusal

      गरिवी र अशिक्षित को कल्याण गर्न नसक्ने , हिन्दू धर्ममा यस्तो लेख्या छ तेस्तो लेख्या छ भनेर हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *