गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनबारे पर्यटन मन्त्रीसँग छलफल

रूपन्देही । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित संचालनका लागि आन्दोलनरत समूहसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार छलफल गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित छलफलमा भैरहवास्थित बिमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।

सिद्धार्थ संजाल रुपन्देहीले यो बिमानस्थल नियमित रुपमा संचालनको माग गर्दै धर्ना कार्यक्रम गरिरहेको समयमा पर्यटनमन्त्री सुदन किराँतीले पुस २ गते सरोकारवाला निकायसँग छलफल गरेर निकास निकाल्ने प्रतिबद्धता गरी मंसिर २७ गते सिद्धार्थ संजाल रुपन्देहीलाई पत्राचार गरी सोमवार मन्त्रालयमा छलफल आयोजना भएको हो ।

पर्यटन मन्त्री सुदान किराँतीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन राज्यमन्त्री सुशीला श्रीर्पाली ठकुरी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल , श्रम रोजगार तथा नागरिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नेपाल नागरिक उड्यन प्रधिकरणका महाप्रबन्धक प्रदिप अधिकारी, सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्र प्रकाश श्रेष्ठ, उधोग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपाने, सोटो नेपाल लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष संजय बजीमय , चेम्बर अफ कर्मस लुम्बिनी प्रदेशका सदस्य खिम बहादुर खत्री, नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त, सिद्धार्थ उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली, भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी लगायतको टोली पुगेको थियो ।

कार्यक्रममा विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले संचालन, चुनौती र अवसरका विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले भैरहवा बिमानस्थल बाट उड्ने प्यासेन्जर शुल्क घटाएर र त्रिभुवन विमानस्थलबाट उड्ने प्यासेन्जरको विमानस्थल शुल्क बढाएर भैरहवाको विमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका प्रबन्धक वीरेन्द्र बहादुर बस्नेतले भैरहवाबाट नोयडा बिमान संचालन गर्न आफु तयार रहेको बताए ।

केन्द्र सरकारले बिकेन्द्रीकरणको नीति नलिँदा यो बिमानस्थल संचालन हुन नसकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए । संघले अझै पनि राजधानी केन्द्रीत काम गर्दा बिमानस्थल संचालन आउन नसकेको उनले बताए ।

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सबै सरकारले गर्दछ भनेर बस्न नहुने बताए । सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले राजधानीका केही व्यक्तिहरुको दवावका कारण विमानस्थल संचालन हुन नसकेको बताए । विमानस्थलसंग सरोकार राख्ने सबै निकायहरु तत्काल भैरहवामा खोल्नु पर्ने उनले जोड दिए । विमानस्थललाई हेरेर भैरहवाका व्यावसायिहरुले अरर्बो लगानी गरेको र त्यो डुब्ने अवस्थामा आएको ज्ञवालीले बताए ।

‘सबैका धारणा सुनेपछि पर्यटनमन्त्री सुदन किराँतीले बिमानस्थल नियमित संचालन हुनेका ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरे । म आजैदेखि काममा लागेँ तपाईहरु हेर्नुहोस् यसको रिजल्ट तपाईहरुले तुरुन्तै देख्नुहुने छ’, उनले भने ।

‘आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित गर्नेमा सबै निकायहरुसँग छलफल सुरु भयो हामी छिट्टै भैरहवा दिल्ली, भैरहवा नोयडा उडान गर्दछौ । साथै भैरहवाको विमानस्थल हेण्डिलिड गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यन्वयन गर्ने तयारीमा छौं’, किराँतीले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *