दुई सडकको भर्चुअल निरीक्षणपछि प्रधानमन्त्रीले भने- सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् ।

सोमबार दिउँसो सिंहदरबारबाट निर्माणाधीन २ सडकको भर्चुअल निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘परियोजनाहरू भने जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’

गिट्टी, बालुवा, ढुंगा, विद्युतका सानातिना समस्या समाधान गर्ने कुरा काबुमा हुने उनले बताए ।

फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन र समयमै कुरा आए समाधान गर्न सजिलो हुने भन्दै प्रधानमन्त्री प्रचण्डले दिनहुँ जनताले भोग्नुपर्ने समस्या अन्त्य हुनुपर्ने बताए ।

उनले भने, ‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ । तोकिएको समयमै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन । यी दुई प्रजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ । म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एक पटक अवसर लिऔं ।’

उनले अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट नभएको भन्दै राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउने गृहकार्य गर्न निर्देशन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *