काठमाडौं । प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलमाथि संसदीय सुनुवाइ जारी छ । सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठकमा सहभागी समितिले सदस्य एवं सांसदले विभिन्न प्रश्न गरेका छन् ।
नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौलाले न्यायालयप्रति भरोसा गुम्दै गएको भन्दै प्रस्तावित न्यायाधीश पोखरेललाई प्रश्न गरेका छन् । उनले कतिपय बैंकरले न्यायाधीशलाई प्रभावमा पारेर फैसला गर्ने गरेको पनि गुनासो गरे ।
नेपाली कांगेसका सांसद रमेशजंग रायमाझी संसदमा न्यायालयमाथि प्रश्न उठाउन पाइन्छ कि पाइँदैन भनेर प्रश्न गरेका छन् ।
उनले प्रस्तावित न्यायाधीश पोखरेललाई प्रश्न गर्दै भने, ‘कहिलेकाहीँ न्यायालयको बारेमा संसदमा पनि प्रश्न उठ्छ । न्यायालयको निर्णयबारे संसदमा बोल्न पाइँदैन भन्ने पनि छ । तर, संसदभित्र देशको सार्वजनिक महत्वको विषयमा संसदले कुरा उठाउन पाउँछ कि पाउँदैन, सार्वभौम संसदलाई त्यो अधिकार छ कि छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले कसै विरुद्ध उजुरी पर्ने बित्तिकै सजाय ठहर नहुँदै सजाय भोग्नुपरेको गुनासो गरे ।
उनले भने, ‘अहिले पनि कसै विरुद्ध उजुरी पर्ने बित्तिकै २४ घण्टा हिरासतमा बस्नुपर्छ । म्याद थप गर्ने विषयमा पनि प्रहरीले काम गर्दैन । सजाय पाउनु अघि नै सजाय भोग्नुपरेको छ ।’
रास्वपा सांसद अर्यालले पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विषयमा पनि प्रस्तावित न्यायाधीश पोखरेलको धारणा मागेका छन् ।
उनले भने, ‘पछिल्लो समय स्वास्थ्यकर्मी एकदमै निरुत्साहित हुन थाल्नुभएको छ । आफूले गल्ती नगरेर नबिराएर काम गर्दा पनि पिटिनुपरेको अवस्था छ । यसलाई सर्वोच्च अदालतले र तपाइले कसरी हेर्नुहुन्छ ?’
उनले साना व्यवसायीलाई छिटो न्याय दिलाउने उपाय के छ भनेर पनि प्रश्न गरेका छन् ।
नेकपा (एमाले) का सांसद पदम गिरीले न्याय सम्पादनमा न्यायालय एकदमै कमजोर बन्दै गएको भन्दै न्यायालयलाई भरोसायोग्य बनाउनका लागि जोड दिन प्रस्तावित न्यायाधीशलाई आग्रह गरे ।
नेपाली कांग्रेसका सांसद जीवन परियारले छिटो भन्दा छिटो फैसला गर्ने आधार के हुन्छन् त्यो गर्न जरुरी रहेकोमा जोड दिए ।
उनले भने, ‘न्यायाधीशको संख्या सबै अदालतमा बढाउनुपर्ने भए पनि बढाउनुपर्यो । कसरी हुन्छ नागरिकलाई छिटो छरितो न्याय दिलाउने उपाय सुझाउनुपर्यो ।’
नेपाली कांग्रेसकै सांसद ईश्वरीदेवी न्यौपानेले बाबुको पालाको मुद्दा नातिको पालासम्म पनि नसकिएको अवस्था रहेको भन्दै न्याय निरूपणलाई छिटो छरितो बनाउनुपर्नेमा जोड दिइन ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, ईश्वरी जिएमले प्रस्तावित न्यायाधीश पोखरेललाई प्रश्न गरेका थिए ।
सांसदले प्रश्न गरिसकेपछि अहिले प्रस्तावित न्यायाधीश पोखरेलले बैठकमा सांसदको प्रश्नको जवाफ दिइरहेका छन् ।

Leave a Reply