काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको खोला अतिक्रमण हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहयोग मागेका छन् । ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनै तहको सरकारले आफ्नो अधिकार भन्दापनि कर्तव्य ठानेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘फोहोर व्यवस्थापनका कुराहरू छन् । संघ र प्रदेश सरकारको काम स्थानीय सरकारले गर्न खोज्दा उहाँहरू खुशी हुनुपर्ने हो । तर, कसैले काम गरिदिनु भनेको अधिकार खोस्नु होइन । फोहोर व्यवस्थापनको काम संघ सरकारले गरेको भए हामीले किन गर्नुपर्थ्यो । अधिकार भन्दापनि कर्तव्यको रुपमा लिनुपर्छ । त्यो सबै तहका सरकारले बुझ्नुपर्छ । त्यो भयो भने फोहोर व्यवस्थापन र खोला अतिक्रमणलाई हटाउन सक्छौं ।’
उनले संघीय कानूनमा स्थानीय कानूनमा बाझिएकाले मेयरहरू, उपमेयरहरु नै बसेर सल्टाउन नसक्ने काममा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उपत्यकाको विकास एकै पटक हुनुपर्ने भन्दै उनले सबै पालिका साथसाथै अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यहाँ स्थानीय सरकार आफैंले काम गर्नको लागि बाधा अड्चन परेकाले कानूनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई यहीँबाट आग्रह पनि गरें, अनुरोध पनि गर्छु । जसले गर्दा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन दिर्घकालीन हुन्छ काठमाडौंमा खोला अतिक्रमण छ ललितपुरमा छैन । ललितपुरका फुटपाथ अलिक्रमण छ काठमाडौंमा छैन । कुनै कुनै अतिक्रमण हामीले हटाउन सक्छौं तर खोला अतिक्रम हटाउन सम्माननीयज्यूलाई आग्रह गरें उहाँ र गृहमन्त्रालयले चाहनुभयो भने ५ मिनेटदेखि एक घण्टासम्म सल्टिन्छन् ।’
उनले काठमाडौं र ललितपुर परस्पर सम्बन्ध रहेको उल्लेख गर्दै एकअर्कालाई सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए।
बालेनले भने, ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपाकिला हुन् । काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरुलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आएपनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ ।’
प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टिसमेत जनाए ।

Leave a Reply