खेल राष्ट्र र राष्ट्रियताका लागिः लामा

रूपन्देही । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् ।

जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रिय समितिले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा नेपाल कराँते महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका लामाले भने, ‘अब खेलाडीले मेडल जित्ने, पदक जित्ने काममा मात्रै होइन, समाज र राष्ट्रको प्रगतिमा पनि अन्य निकायसँग हातेमालो गरेर अगाडी बढ्नुपर्छ । ’

लामाले आफू राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भइसकेको व्यक्ति कराँते खेलकुदको सम्बद्र्धन र एकताबद्ध विकासको लागि विशेष निर्णय लिइ कराँते महासंघको अध्यक्षको जिम्मेवारी लिएको बताए ।

उनले भने, ‘मैले धेरै सोचीबिचारी सदस्य सचिव भइसकेको व्यक्ति, फेरी त्यही राखेपको अंगको रुपमा रहेको कराँते महासंघको अध्यक्ष बन्ने प्रस्ताव स्वीकारेको हो । एक किसिमले भन्दा म र दाबा घटुवा भएर भए पनि कराँते खेलकुदको विकास र एकताबद्धताको लागि यो विशेष निर्णय गरेका हौं । ’

लामा कराँते महासंघको अध्यक्ष र यसअघि महासंघको अध्यक्ष भएका दाबा लामा महासचिव भई यतिबेला कराते महासंघलाई चलायमान गराइरहेका छन् ।

अध्यक्ष लामाले नेपालका सबै कराँते खेलकुदको विकासको लागि एकीकृत योजनाको साथ काम गर्ने समेत बताए । लामाले निकट भविष्यमा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार गर्नेगरी सोच बनाएको समेत बताए ।

 अध्यक्ष लामाको सम्मानमा जापान गोजुरियो कराते डो.मिसन संघ नेपाल केन्द्रिय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा जापान गोजुरियोका संस्थापक अध्यक्ष काजि रानाले कराँतेको संस्थागत विकासको लागि लामाको योगदान अतुलनीय रहेको बताए ।

सो अवसरमा कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर केसीले नेपाली कराँते खेलाडीहरुको उत्थान र संरक्षणको लागि नेपाल कराँते महासंघले विशेष योजना ल्याएमा त्यो प्रभावकारी हुने बताए । उनले बुद्ध र कराँतेको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आयोजना गरेमा त्यसले संसारभरी शान्तिको सन्देश प्रवाह गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

महासंघका प्रदेश सदस्य उमाशंकर खड्काले राखेपका पूर्व सदस्य सचिव लामाको पालामा खेलकुद क्षेत्रको देखिने गरी विकास भएको स्मरण गर्दै कराँते महासंघको अध्यक्ष भइरहँदा सबै कराँतेका खेलाडीले धेरै सपना देखेको बताए ।

जापान गोजुरियो कराते डो। मिसन संघ नेपाल केन्द्रिय सचिव गिरी पुनले कराँते खेलकुदप्रति पछिल्लो पुस्ताको आकर्षण बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *