रुपन्देही । पुराना बामपन्थी नेता विष्णुहरि शर्माद्वारा लिखित इतिहासलाई फर्केर हेर्दा पुस्तकको विमोचन पूर्व प्रधानमन्त्री तथा समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका छन् । शर्मा पूर्वप्रधानमन्त्री डा. भट्टराईका सहपाठी तथा नेपाल समाजवादी नेपालका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष हुन् ।
बुटवलमा शनिवार पुस्तक विमोचन कार्यक्रममा बोल्दै भट्टराईले लेखक विष्णुहरिलाई आफूले २०३५ सालदेखि नै चिनेको र औपचारिक शिक्षा त्यति धेरै प्राप्त नगरे पनि अत्यन्तै सिर्जनशील र अन्तरनिहीत बौद्धिक क्षमता हुनुका साथै समाजसँग जोडिनसक्ने विशेष क्षमता रहेको बताए ।
पुस्तकमा उल्लेखित विषयहरु सिद्धान्तको लागि सिद्धान्त र तर्कको लागि तर्क नभएर व्यवहारसँग जोडिएका समकालीन राजनीतिका विषयहरु समावेश भएको भट्टराईले बताए । विष्णुहरि शर्माका लेखहरु सिद्धान्तलाई व्यवहारसँग जोड्ने हिसाबले आउने गरेको उनको भनाइ छ । लेखक शर्माले पुस्तकमा आफूले सकेसम्म देशको अहिलेको अवस्थाको बारेमा उल्लेख गर्ने प्रयास गरेको जनाए ।
पुस्तक बिमोचन तथा समीक्षा कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, विश्लेषक मनिकर कार्की, लेखक ऋषि आजाद, मदन पौडेल, गुरुदत्त ज्ञवालीलगायतले बोल्दै पुस्तकमा वर्तमान अवस्थाको विकृति र विसङगतिका कुराहरु गम्भीर रुपमा उठान गरिएको बताएका थिए ।

Leave a Reply