विराटनगर । माओवादी केन्द्रका सांसद् माधव सापकोटाले विश्वाव्यापीकरणको प्रचुर फाइदा लिएर पनि नेपाली समाजले त्यसलाई सही ढंगले बुझ्न नसकेको बताएका छन् ।
सापकोटाले समाजमा पछिल्लो समय नेपाली विदेश जाने गरेको विषयलाई नकारात्मक कोणबाट मात्र बढी चर्चा हुने गरेको भन्दै विश्वव्यापीकरण आजको यथार्थ भएको स्वीकार गर्न सक्नुपर्ने बताए ।
‘कि त हामी विश्व्यापीकरणबाट अलग हुन्छौं, यसलाई मान्दैनौं भन्न सक्नुपर्छ’ उद्योग व्यापार संघ मोरङले विराटनगरमा शुक्रबार गरेको कार्यक्रममा सापकोटाले भने, ‘विश्वव्यापीकरणबाट प्रचुर फाइदा पनि लिने अनि खाली मानिसहरु बाहिरिनु गलत भयो भन्ने कुरालाई चर्को स्वरमा कराउने प्रवृत्ति हाबी भयो ।’
सापकोटाले नेपालका मानिस बाहिर गएको मात्र नभई बाहिरका मानिस नेपाल आउने गरेको पनि तर्क गरे । उनले संसारका अतिविकसित मुलुकका मानिसहरु पनि रोजगारी वा अन्य अवसरका लागि बाह्य मुलुक जाने गरेको औंल्याए ।
‘विश्वव्यापीकरण भनेकै एक ठाउँको मानिस अर्को ठाउँमा जाने हो’, उनले भने, ‘विश्वव्यापीकरणका कारण मानिस आउने जाने कुरालाई कसैले रोक्न सक्दैन ।’ यद्यपि मुलुकका लागि अत्यावश्यक दक्ष जनशक्तिले मुलुकमै बसेर रोजगारी गर्न चाहँदा त्यसको वातावरण मिलाउने जिम्मेवारी राज्यको भएको बताए ।
सापकोटाले नेपाललाई शिक्षा, पर्यटन र विज्ञान प्राविधिको हब बनाउन सकिनेतर्फ सरकारको काम गर्नुपर्नेमा जोड दिए । केही दिनअघि सम्पन्न काठमाण्डौं विश्वविद्यालयको दिक्षान्त समारोहमा विदेशी विद्यार्थीहरुसमेत दिक्षित भएको सन्दर्भ उल्लेख गर्दै उनले विदेशी विद्यार्थी आकर्षित गर्न सक्ने सम्भावना रहेको बताए ।
सापकोटाले डा.गोविन्द केसीको पटकपटकको अनसनलाई संकेत गर्दै एएटा व्यक्तिको अनुचित दबाबमा परेर राज्यले मेडिकल कलेजलाई सम्बन्धन रोक्न नहुने उल्लेख गरे । ‘एउटा व्यक्ति मेडिकल कलेज खोल्न पाइँदैन भनेर अनसन बस्छ, सरकार उसका अगाडि झुक्छ’, उनले भने, ‘ एउटा व्यक्तिको अनुचित दबाब प्रभाव र धम्कीमा परेर राज्यले आफ्नो दायित्वबाट पछि हट्न पाउँदैन ।’
यस्तै असन्तुलित व्यापार घाटा न्यूनीकरणका लागि कृषिमा आधुनिकीकरण गरी नेपाललाई खाद्यान्नमा आत्मभिर्नर बनाउनुपर्ने धारणा व्यक्त गरे । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि ११ बुँदे रोडम्याप सार्वजनिक गरेको र सरकारी प्रयासको सकारात्मक प्रभाव अर्थतन्त्रका सूचकहरुमा पर्न थालिसकेको दाबी उनको थियो ।
वर्तमान सरकारले कृषिमा आत्मनिर्भर बन्नुका साथै जलविद्युत, पर्यटन र व्यापार वृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अर्थतन्त्रमा चुनौती भए पनि त्यसलाई अवसरका रुपमा उपयोग गर्नु सक्नुपर्ने भनाइ सापकोटाको थियो ।

Leave a Reply