हर्कले फ्याँके ‘नयाँ शक्ति’को पासा, बालेनसँग के छ उनको आशा ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दैनिक दर्जनौं स्टाटसहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् । उनका स्टाटसले पहिलेजस्तो एटेन्सन पाउन पनि छोडिसके । तर, हिजाे बिहानै लेखेको एक वाक्यको एउटा स्टाटसलाई भने धेरैले अर्थपूर्ण मानेका छन् ।

हर्कले लेखेका छन्, ‘हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ ।’

यो स्टाटसलाई यसकारण अर्थपूर्ण मानिएको हो कि हर्कले भर्खरै मात्र काठमाडौं आएर यहाँका मेयर बालेन्द्र साहसँग भेटघाट गरेका थिए । भेटलगत्तै उनले यस्तो अभिव्यक्ति दिनुले दुई मेयरबीच कुनै राजनीतिक निर्माणको प्रारम्भिक समझदारी भएको हो कि भन्ने आशंका धेरैले गरिरहेका छन् ।

हुन त ‘नयाँ शक्ति’ भन्ने शब्दावली नै नेपाली राजनीतिमा धेरै पुरानो भइसकेको छ । थुप्रैले आफूलाई नेपाली राजनीतिमा नयाँ शक्ति बन्ने भन्दै आए, कति बिलाए, कति ओझेलमा परेका छन् । डा. बाबुराम भट्टराईले माओवादीबाट निस्किएर नयाँ शक्ति नामको पार्टी नै गठन गरेका थियो, जुन अहिले इतिहास बनिसकेको छ ।

अहिले हर्कले फेरि त्यही पुरानो पत्ता झिकेर सामाजिक सञ्जालमा फ्याँक्दा यसले अलिकति कौतुहल अवश्य बढाएको छ । यद्यपि, बालेन र हर्क साम्पाङबीचको भेटमा कुनै राजनीतक विषयवस्तुमा कुराकानी नभएको स्रोत बताउँछ ।

बालेननिकट स्रोतले भन्यो, ‘राजनीतिक सहकार्य गर्ने विषयमा कुराकानी वा समझदारी भएको छैन । धरानको बिकासमा कसरी काठमाडौंले सघाउन सक्छ भन्नेमा छलफल केन्द्रित थियो’, हर्कको स्टाटसको अन्तर्यबारे स्रोतले अनभिज्ञता प्रकट गरेको छ ।

‘उहाँले कुन आशयले लेख्नुभयो थाहा भएन । भेटमा उहाँले कुनै राजनीतिक प्रस्ताव राख्नुभएको थिएन’, स्रोतले थप्यो ।

बालेन र हर्कबीचको भेटमा धरानको खानेपानी समस्याका बारेमा विस्तृत छलफल भएको थियो । बालेनले यो समस्या समाधानका लागि अन्तर्राष्ट्रिय डोनर जुटाउनका लागि हर्कलाई सहयोग गर्ने आश्वासन दिएका छन् । हर्कले आफू बारम्बार काठमाडौं धाउन नसक्ने भएकाले बालेनसँग अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वयका लागि सहयोग मागेका थिए ।

गत स्थानीय चुनावमा सर्वाधिक चर्चा पाएका दुई विजयी उम्मेदवार बालेन र हर्क साम्पाङ थिए । निर्वाचनयता उनीहरु दुवैको लोकप्रियतामा उतारचढाव आइरहेको छ । हर्क बढी नै विवादित भए ।

बालेनको क्रेज भने, ‘अहिले पनि एक हदसम्म कायम नै छ । यी दुईको आपसी सम्वन्ध पनि उतारचढावयुक्त नै छ ।’ केही समय पहिले उनीहरु फेसबुक वारमा उत्रिएका थिए । हर्कले बालेनविरुद्ध धारावाहिक स्टाटसहरु लेखेका थिए, जसले गर्दा उनको लोकप्रियतामा ठूलो ह्रास आयो । अहिले भने उनीहरु सौहार्दपूर्ण सम्बन्धमा छन् ।

धेरैलाई अब २०८४ सालको चुनावमा बालेनले के गर्छन् भन्ने चासो छ । कतिले उनी नयाँ पार्टी खोलेर चुनाव लड्न सक्ने अनुमान गरेका छन् । कतिले फेरि काठमाडौंको मेयरमै उठ्न सक्ने आंकलन गरेका छन् । अनि कतिको चाहना चाहीँ बालेन, रवि लामिछाने र हर्क साम्पाङजस्ता वैकल्पिक धारका नेताहरु एकै ठाउँ उभिएर ८४ सालको चुनावमा ठूला दलहरुलाई स्वीप गरिदिए हुन्थ्यो भन्ने छ ।

बालेन निकट अर्को स्रोत भने ८४ सालको चुनावलाई लिएर अहिले नै कुनै पनि तयारी नगरिएको दावी गर्छ । यद्यपि, सबै सम्भावनाका ढोकाहरु खुल्ला नै राखिएको स्रोतको भनाइ छ । नयाँ पार्टी गठन गरेर संसदीय चुनाव लड्न सक्ने सम्भावनालाई स्रोतले खारेज गरेन ।

यता, रवि लामिछानको स्वतन्त्र पार्टी भने बालेन र हर्क साम्पाङसँग सहकार्य गर्न उत्सुक छन् । आफ्नो दलको छाताभित्र बढीभन्दा बढी लोकप्रिय व्यक्तिहरुलाई समेटेर चुनावमा दह्रो धक्का दिने रवि लामिछानेको योजना छ । तर, यो त्यति सहज भने छैन । बालेनले रविलाई खासै भाउ दिइरहेका छैनन् । केहीअघि उनले रास्वपाको मिसन ८४ लाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा स्टाटस समेत लेखेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *