कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाबाट जनताको अवस्था सुधार आउन नसक्ने बताएका छन् ।
कैलालीको पहलमानपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले जनताको अवस्था सुधार गर्न वर्तमान व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।
‘सबै गणतन्त्र धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा छन् । अहिलेको व्यवस्थाको पक्षमा छन् । नेपालमा एउटा मात्रै पार्टी छ जसले राजासहितको प्रजातन्त्रको कुरा गरेको छ । जसले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको कुरा गरेको छ’ उनले भने ‘१५ वर्षको अभ्यासले धर्मनिरपेक्षता गणतन्त्र र संघीयता गलत भएको पुष्टि भएको छ । अब यो परिवर्तन गर्नु पर्छ ।’
अहिले प्रदेश तहको खारेजी आवश्यक रहेको उनले बताए । ‘आज देशको अवस्था कहाँ पुग्यो ? यो तीन दशक तीनै पार्टीको हातमा छ मुलुक । मुट्ठीभर पार्टी र मुट्ठीभर नेताहरूको हातमा तीन दशक छ मुलुक’ उनले भने, ‘नेतृत्व फेल भयो भयो। यिनले ल्याएको व्यवस्था पनि असफल भयो । यो व्यवस्थाले पनि काम गर्दैन । व्यवस्था फेर्नु पर्छ ।’
उनले अघि थपे, ‘निर्वाचन प्रणालीमा जाँड रक्सी खुवाएर जनतालाई पैसा दिएर जित्ने । प्रधानमन्त्री हुन चाहनेले संसद् किन्न ठिक्क हुनु पर्ने मन्त्री हुनेले पार्टी किन्नु पर्छ । यो प्रणालीबाट देश सुधार आउँदै छ ।’
लिङदेनले अदालत र संवैधानिक अङ्गमा पनि प्रश्न उठाए । दलीय आधारमा संवैधानिक अङ्कको निर्माण भएको भन्दै उनले स्थिरता कायम गरेको यो समग्र प्रणाली सुधार गर्न आवश्यक छ ।
‘अदालतमा पार्टीका प्रतिनिधिहरू बसिरहेका छन् । पार्टीको भागबन्डाबाट न्यायाधीश नियुक्त हुन्छ । कसको इजलास पर्यो भन्दा न्यायाधीशको नाम होइन पार्टीको नाम हुन्छ’ उनले भने, ‘यो देशको प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । अहिलेको राष्ट्रपतिको ठाउँमा अभिभावकीय संस्थाको ठाउँमा राजा रहने व्यवस्था गर्नु पर्छ ।’
राजाको उत्तराधिकारीका विषयमा सांसदले व्यवस्था मिलाउनु पर्ने बताए ।
‘राजाको उत्तराधिकारी जेठो छोरो हुने कि जेठी छोरी हुने भन्ने कुरा सांसदले बनाउने व्यवस्था मिलाउनु पर्छ । सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागु गर्नु पर्छ’ उनले भने, ‘नयाँ सम्झौता र नयाँ समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प छैन ।’
राजसंस्था अभिभावको लागि आवश्यक रहेको जिकिर गरे । उनले अहिलेको राष्ट्रपतिमाथि पनि प्रश्न उठाए ।
‘हामीले राजा सबैको अभिभावक बनाउन खोजेका हौँ । कांग्रेस माओवादी एमाले हामी सबै नेपालीको साझा संस्थाको रूपमा राजसंस्था आउनु पर्छ भनेका हौँ अहिलेको राष्ट्रपति संस्था भएन दलको कारिन्दा भयो’ उनले भने, त्यसको ठाउँमा भोट नचाहिने चुनाव भन्दा माथि उठेको संस्थाको रूपमा राजा रहनु प¥यो ।’
अब संवैधानिक अङ्क र न्यायालयमा नियुक्ति भागबन्डाको आधारमा नभई योग्यता र क्षमताको आधारमा हुनुपर्नेमा जोड दिए । उनले नयाँ सम्झौता गरेर नयाँ व्यवस्थामा जानु पर्ने बताए ।
‘देशले अहिलेको व्यवस्था र अहिलेको अवस्था धान्न सक्दैन । देश लुटेर बस्ने अवस्थाको अन्त्य हुनुपर्छ’ उनले भने, ‘यिनै पार्टी र यी नै पार्टीका नेताबाट देश बनाउने परिकल्पा गर्नु भनेको साँढेको टाँङ्ग मुनि बाल्टी थाप्नु जस्तै हो ।’
बलियो स्थानीय तह बनाउने सङ्ख्या घटाउने जनप्रतिनिधि घटाउने र प्रदेश खारेज गर्ने माग गरेको बताए । उनले राज्यले दिने सेवा सुविधा जनाएको आधारमा नभई गरिबिको आधारमा हुनुपर्ने बताए । सरकारले एनसेल प्रकरणमा बनाएको छानबिन समिति माथि पनि उनले प्रश्न उठाए ।

Leave a Reply