शेखर-गगनको सन्देश: एजेण्डागत रुपमा हामीबीच एक इन्च पनि फरक छैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफूहरुबीच कुनै समस्या नभएको प्रस्ट पारेका छन् । बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर पक्षको भेलामा नेताहरुले पछिल्लो समय भएको विमतिको विषयमा प्रश्न उठाएपछि उनीहरुले कुनै समस्या नभएको स्पष्टीकरण दिएका हुन् ।

बैठकपछि नेता कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको दाबी गरे । एजेण्डाको सवालमा महामन्त्री थापासँग कुनै फरक नभएको प्रस्ट पारे ।

उनले भने, ‘गगनजी र मसँग कुनै डिफेरेन्सेस थिएन । डिफेरेन्सेस हुने एजेण्डामा होइन, केहीमा पनि छैन । एजेण्डाको सवालमा महामन्त्रीजीसँग मेरो केही पनि फरक छैन । एक इन्च पनि फरक छैन । उहाँको उमेर र सोचाइ मसँग फरक छ । त्यो स्वाभाविक हो । त्यसले मात्रै हो । एजेण्डामा कुनै समस्या छैन ।’

महामन्त्री थापाले पनि आफूहरुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको बताए ।

उनले भने, ‘हाम्रो बीचमा कम छलफल गर्दा समस्या देखिएका हुन् । मूलभूत रुपमा हामी सबै एकै ठाउँमा छौं । पार्टीभित्रको सुझाव र सुशासनको सवालमा पनि एकै ठाउँमा छौं । तर, कार्यशैलीगत सवालमा केही असमझदारी होलान्, संवादबाट हल गर्छौं ।’

बैठकमा दुई नेताबीच आएको खटपटबारे प्रश्न उठेको नेता सुनिल शर्माले बताए ।

उनले भने, ‘हाम्रो गुटभित्र पनि समस्या भए । शेखर दाइ र गगनजीको बीचमा समस्या आएको सुनियो । यो लुकाएर पनि हुँदैन । आमसाथीहरुले १४औं महाधिवेशनमा हामी सँगै लडेका थियौं । ती साथीहरुले अब अरु जुटाउने हो । त्यो फुटाउने होइन । शेखर कोइरालाविनाको यो समूह र गगन थापाबीचको यो समूह अपूरो हुन्छ भन्ने धारणा राखेका छौं ।’

कोशीमा शेखरले एकलौटी रूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो । तर, गगनका ससुरासमेत रहेका नेता अर्जुननरसिंह केसीले मध्यस्थकर्ताको भूमिका खेलेपछि दुई नेता एकै ठाउँमा आएका छन् ।

लामो समयपछि नेता केसीकै घरमा दुई नेताबीच तीन घण्टा लामो वार्ता भएपछि एकै ठाउँमा बस्ने वातावरण बनेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *