एमालेको चिहान खन्ने किरातीको हिंसात्मक अभिव्यक्तिले पहिचानवादी रक्षात्मक, के भन्छन् आन्दोलनकारी नेता ?

विराटनगर । नेकपा एमालेको जारी झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्ने गरी कोशी प्रदेशमा पहिचानवादीले आन्दोलन घोषणा गरेसँगै संगठनका अगुवाले भड्किलो अभिव्यक्ति दिइरहेका छन् । दुई दिनअघि मात्र गोपाल किरातीले पत्रकार सम्मेलनमा एमालेका नेतालाई घुर्मीमा ‘चिहान’ तयार पारेको हिंसात्मक भाषण गरेका थिए । आन्दोलन अरु नेताले भने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

प्रदेशको नामकरणपछि आफूहरू निरन्तर आन्दोलित भएकाले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित आन्दोलन पनि यसैको निरन्तरता भएको उनीहरूको भनाइ छ ।

‘लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाइन्छ । हामीले कुनै दल, जाति विशेषलाई केन्द्रित गरी आन्दोलन गरिरहेका छैनौं’, किराँत राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले भने, ‘हामी एजेन्डाका लागि आन्दोलन गरिरहेका छौ । मध्यपहाडी लोक मार्ग केन्द्रित बन्दको आयोजना पनि यसैको रूप हो ।’

उनले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरू र पहिचानविरोधी अभिव्यक्ति दिनेहरूको विरुद्धमा आफूहरूले बन्दको आव्हान गरेको बताए ।

किराँत याक्थुङ्ग चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले आफूहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र धर्म निरपेक्ष राष्ट्रका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए ।

उनले भने, ‘ हामी लोकतन्त्रका विश्वास गर्छौं लोकतन्त्रमा कसैले कार्यक्रम गर्न नपाउने भन्ने हुँदैन । कसैको विरोध गर्न पाइँदैन भन्ने पनि हुँदैन । हामी शान्तिपूर्ण ढङ्गले हाम्रा विरोधका कार्यक्रम गर्छौं । ‘

एमाले देशको ठूलो दल भएकाले आफ्ना माग सुनाउन र बुझाउन आन्दोलनका कार्यक्रम राख्नुपरेको उनको जिकिर छ ।

उनले भने, ‘हामी कसैप्रति लक्षित छैनौं । हाम्रा माग पूरा होस् भन्न र माग सम्बोधन गरियोस् भन्नका लागि एमालेलाई माग सुनाउन चाहन्छौं । यसैका लागि एमालेको कार्यक्रममा हाम्रो विरोध रहन्छ । हामी हाम्रो एजेन्डा एड्रेस होस भन्ने चाहन्छौ ।’

आन्दोलनरत पहिचानसहितको प्रदेश नम्बर १ पुन: नामांकन अभियान समितिका संयोजक डाकेन्द्रसिंह थेगिमले पनि आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । हामी हिंसामा विश्वास गर्दैनौं उनले भने, हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासन लगाएर उत्तेजित नपारियोस् ।

एमालेले पहिचानसहितको प्रदेशको नामकरण गर्ने विषयमा उत्तेजक अभिव्यक्ति दिइरहेको छ । यसलाई सच्याएर आन्दोलनरत जनताको भावना बुझोस् भनेर हामीले विरोध गरेका हौं ।

उनले भने, ‘हामी एमालेलाई हाम्रा माग सुनाउन र बुझाउन चाहान्छौं ।’

एमालेले सुरू गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मंसिर २६ गते उदयपुरको घुर्मीमा आइपुग्दैछ । सोही दिन एमालेले ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित हर्कपुरमा आमसभाको आयोजना गर्दैछ ।

सो सभा र कार्यक्रम लक्षित गरेर प्रदेश नम्बर १ पुन: नामांकन समितिले मध्यपहाडी लोकमार्ग बन्दको आव्हान गरेको छ । एमालेले संकल्प यात्रा जसरी पनि गर्ने र सङ्घर्ष समितिले अवरोध गर्ने बताएपछि मुठभेडको सम्भावना बढाएको छ ।

किराँती भन्छन्- चिहान कस्तो छ, मैले हेरेको छैन

पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्छ भनेर आन्दोलन गरिरहेका नेता गोपाल किराँतीले केही दिनअघि पाखण्ड कुरा गर्नेहरूको चिहान घुर्मीमा खनिसकिएको अभिव्यक्ति दिएका थिए ।
उनले नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रदेशको नामकरणपछि सच्चिन तयार छौं भन्दा पनि एमालेका नेताहरूले पहिचानविरोधी थप उत्तेजक कुरा गरेकाले एमालेको कार्यक्रमलाई प्रतिरोध गर्ने बताए ।

किराँतीले भने, ‘हामीले एमालेको कार्यक्रम रोक्छौ भनेका छैनौं । कोशीको पक्षमा मतदान गर्ने सांसद र पहिचानविरोधी अभिव्यक्त दिने नेताहरूलाई अवरोध गर्छौं भनेको बताए ।’

उनलाई चिहान खनिएको अभिव्यत्तिका विषयमा गरिएको जिज्ञासामा आफूले चिहान हेरिनसकेको बताए ।

उनले भने, ‘हामी हाम्रा कार्यक्रम गर्छौं । सत्ताको बल प्रयोग गरेर हामीमाथि दमन भयो भने चुप लागेर बस्दैनौं ।’

संवेदनशील छौं नेताहरू

आन्दोलनका क्रममा घुसपैठ हुने र हिंसा फैलाउन सक्ने विषयमा आफूहरू सचेत रहेको नेताहरूले बताएका छन् ।

‘हामीले पहिचानको आन्दोलनमा जाने सबै नेता तथा कार्यकर्ताहरूको पहिचान गरेका छौं । उहाँहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न निर्देशन दिएका पनि छौं । यति हुँदा हुँदै पनि घुस पेठ हुने विषयमा सचेत छौ । हामी सम्भावित झडप मुठभेठ र आन्दोलनलाई संवेदनशील भएर हेरिरहेका छौं, याक्थुङ चुम्लुङका अध्यक्ष एक्तेनले भने ।

‘कसले चिहान खन्छौ भन्नु भो ? र के सन्दर्भमा भन्नु भयो ? मलाई थाहा छैन । यस्ता कुरा संयुक्त सङ्घर्ष समितको होइन यो उहाँको व्यक्तिगत कुरा हो’, उनले भने ।

एक्तेनले आफूहरूको आन्दोलनमा घुसपैठ हुन खोजिरहेको दाबी गर्दै यसमा सचेत रहेको बताए ।

यायोख्खाका उपाध्यक्ष तिलक राई जिम्मेवाररूपमा आन्दोलनमा प्रस्तुत हुने बताउँछन् ।

उनी भन्छन्, ‘मैले अहिले पनि एमालेका प्रदेशका अध्यक्ष घनश्यामजीसँग कुरा गर्न खोजिरहेको छु । हामी हिंसा हुन नदिने विषयमा सचेत छौं ।’

Comments

One response to “एमालेको चिहान खन्ने किरातीको हिंसात्मक अभिव्यक्तिले पहिचानवादी रक्षात्मक, के भन्छन् आन्दोलनकारी नेता ?”

  1. ksp pyl Avatar
    ksp pyl

    धम्किदिने भुस्याहा कुकुरजस्ता हुन् । अलि परबाट कुईकुई गर्ने र हट् भनेपछि सुईकुच्चा ठोक्ने। यी पहिचानवादी नामका दिल्लीका दलालहरूलाई एमालेले भुसुना पनि मान्दैन । जसले कडा धम्की दिन्छ त्यो त्यति ठूलो दलाल हुन्छ । अहिले एक नम्बरमा गोपाल किराँती निस्कदैछ । चिहान खन्ने धम्की दिएर आफू चाहिँ बाँच्ने कहाँ गएर ? दिल्ली ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *