भोजपुरमा संकल्प यात्राको मौलिक तयारी- दुनाटपरी गाँस्दै कार्यकर्ता, ओलीसहित ३०० पाहुनालाई यसरी गरिँदैछ व्यवस्थापन

भोजपुर । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत भोजपुरमा हुने सभा, शीर्ष नेताको स्वागतका लागि जिल्ला कमिटी भोजपुरले तयारी र प्रचारप्रसारलाई तीव्र पारेको छ ।

एमाले जिल्ला कमिटीले अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने सभा, भेटघाटलगायतका कार्यक्रमको तालिका सार्वजनिक गर्दै पार्टी पंक्तिलाई स्वागत तथा व्यवस्थापनका लागि परिचालन गरेको जनाएको छ ।

एमालेको टोली खोटाङ हुँदै मंसिर २७ गते भोजपुरको चखेवाभञ्ज्याङ छिर्नेछ । २८ गते दिउँसो विभिन्न ठाउँमा कार्यक्रम सकेर भोजपुर र धनकुटाको सिमाना अरुण नदी किनारको लेगुवाघाटबाट यात्रामा सहभागी टोलीलाई बिदाई गरिने छ ।

कार्यक्रमको तयारीका लागि नेताहरू जिल्लामा खटिइसकेका छन् । स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई केही दिनअघि आएका थिए । कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ, केन्द्रीय नेताहरु जुली महासेठ, एलपी सावा, रवीन कोइराला, हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्पा पनि तयारीबारे छलफल तथा अन्तरक्रियाका लागि भोजपुर आएका छन् ।

एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईका अनुसार ओलीसहित यात्रामा सहभागी नेतालाई स्वागत र आतिथ्यताका लागि मौलिक खालको तयारी भइरहेको छ । ठाउँठाउँमा विभिन्न जातीय झाँकीसहित स्वागत गरिनेछ । ।

टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा खाना खुवाउन दुना-टपरी साथै खानेपानीको लागि बाँसको ढुंग्रो बनाउन स्थानीय र कार्यकर्ता खटेका छन् । यात्रामा रहेका करिब ३०० पाहुनालाई होटलमा नराखेर भोजपुर सदरमुकाम आसपासका कार्यकर्ताको ५७ घरमा व्यवस्थापन गरिने अध्यक्ष राईले बताए ।

‘नेताहरूलाई तल्लो स्तरका कार्यकर्ताको कुरा उनीहरूबाटै सुनाउन हामीले नयाँ प्रयोग गर्न लागेका हौं । यसले खुलेर भावना साटासाट गर्न पनि मद्दत गर्छ । साथै स्थानीय उत्पादन र मौलिकतालाई पनि प्रवर्द्धन गर्न फरकपनसहित केही सन्देश दिन खोजेका हौं ‘, उनले भने ।

जिल्लाको विकास र समृद्धिको लागि पार्टीको तर्फबाट अध्यक्षलाई ज्ञापन पत्र बुझाउने, अभियानको क्रममा पार्टीका पुराना नेता-कार्यकर्ता र जिल्लामा रहेका उद्यमीहरूसँगको भेटघाट पनि राखिएको छ ।

भोजपुर-खोटाङ्गको सिमाना चखेवा भञ्जाङदेखि धनकुटा-भोजपुरको सिमाना अरुण नदी लेगुवाघाटसम्मको १०७ किलोमिटरभित्र १५ भन्दा बढी स्वागतद्वार बनाइने छ ।

त्यस्तै मंसिर २७-२८ दुवै दिन यात्रामा रहेका नेता-कार्यकर्ताको स्वास्थ्यलाई लक्षित गर्दै प्राथमिक उपचारका सामग्री र एम्बुलेन्ससहित स्वास्थ्यकर्मी टोली परिचालन गरिने पनि अध्यक्ष राईले जानकारी दिए ।

मध्यपहाडी यात्राको टोलीलाई स्वागत र व्यवस्थापनको तयारी जानकारी दिन आयोजित पत्रकार सम्मेलन (भिडिओ)

यस्तो छ भोजपुरको दुई दिने तालिका

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *