रुपन्देही । लोकतन्त्रको संरक्षण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार असफल भएको भन्दै बुटवलका बुद्धिजीवी तथा समाजसेवीहरुले सुशासनका लागि नागरिक दवाव समूह गठन गरेका छन् ।
पछिल्लो समय नेपाल सरकारका गतिविधि, कामकारबाही र अदुरदर्शी निर्णयहरुका कारण लोकतन्त्रविरोधी गतिविधिहरु मौलाएको भन्दै नागरिक समाजका अगुवाहरुले मानवअधिकारको अवस्था दयनीय र राज्यव्यवस्था उदासीन रहेको बताएका छन् । नेपालमा राजनैतिक दलको विकल्प नरहेको तर नेताहरु सच्चिनुको पनि विकल्प नरहेको कुरामा सहभागीहरुको जोड रहेको थियो ।
सहभागीहरुले राजनैतिक स्थिरता, मुलुकको समृद्धि र सुशासनको नारा दिएर नथाक्ने प्रमुख राजनैतिक दल र नेताहरुका कारण मुलुकमा लोकतन्त्रमाथि धावा बोल्ने तत्वहरुको संगठित हुँदा पनि चुप लागेर बसेको टिप्पणी गरेका छन् ।
मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोबिन्द खनालले देशमा लोकतान्त्रिक व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै यसलाई समुन्नत बनाउन प्रमुख राजनैतिक दल र नेतृत्व पंक्ति सच्चिनु पर्ने बताए । लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलन जरुरी रहेको ठहर गर्दै रुपन्देहीबाट नागरिक दवाव अभियान शुरुआत भएको उनले जनाए ।
वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले नेपालमा लोकतन्त्रविरोधी गतिविधिहरु बढ्नुका प्रमुख राजनैतिक दलहरु नै दोषी रहेको उल्लेख गर्दै राजनैतिक दल दिशाहीन भएकोले नागरिक समाजले खवरदारी गर्नुपर्ने आवश्यकक्ता औंल्याए ।
अधिवक्ता महेन्द्र पाण्डेले प्रमुख दलका कार्यशैली, मुलुकमा उत्पन्न आर्थिक संकटका कारण जनतामा निराशा उत्पन्न भएको चर्चा गर्दै दलहरुलाई सच्चिएर अघि बढ्नका लागि नागरिक समाजबाट दवाव र खवरदारी आवश्यक रहेको धारणा राखे ।
उद्योगी डम्बरदेव अर्यालले आर्थिक सवलीकरण र समृद्धिको यात्राका सवालमा राज्यपक्ष उदासीन हुँदा उद्योग व्यवसाय क्षेत्र धरासायी बनेको उल्लेख गर्दै उत्पन्न बेरोजगारी र आर्थिक संकटको प्रत्यक्ष असर जनतामा परेको बताए । पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले युवाहरु पलायन हुनबाट रोक्न सरकारले दीर्घकालीन योजना गर्न आवश्यक रहेको कुरामा जोड दिदै उपयुक्त नीतिनिर्माण गर्न सरकारसमक्ष आग्रह गरे ।
कार्यक्रममा प्राध्यापक लिलबहादुर केसी, प्रगतिशील लेखक ऋषि आजाद, उपभोक्ता हित संरक्षण मन्च बुटवलका अध्यक्ष समुन्द्र जीसी, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, नागरिक समाजका बिनबहादुर कुंवर, गणेश घिमिरे, ईश्वरीप्रसाद पाण्डेलगाएत वकिल, पत्रकार, लेखक, अधिकारकर्मीहरुले लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनको आवश्यक्ता रहेको र यसको शुरुआत रुपन्देहीबाट गरिएको चर्चा गरेका थिए । भेलाले गोविन्द खनाल संयोजक र ऋषि आजाद सचिव रहेको नागरिक दवाव समूह गठन गरिएको छ ।

Leave a Reply