रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई दुई दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आन्दोलन नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दै भैरहवा क्षेत्रका व्यवसायीहरुले आइतबारदेखि विमानस्थल अगाडि धर्ना सुरु गरेका छन् ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा शुक्रबारदेखि भैरहवामा आन्दोलन सुरु भएको छ । यो आन्दोलनमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेय आफै सहभागी भएपछि उनीहरु थप उत्साहित भएका छन् ।
धर्नामा सहभागी भएका लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालनका लागि भएको आन्दोलनले सार्थकता पाउने बताए । उनले प्रदेश सरकारमा रहेका मन्त्री र मुख्यमन्त्रीले दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग दुश्मनी गर्नुपरे वा वार की पारको लडाइ गनुपरे गर्छ । सन्तोष पाण्डेय मन्त्री पछि हो पहिला यो क्षेत्रको एउटा व्यक्ति हो । मन्त्री भनेको आज छ भोलि छैन । तर सन्तोष पाण्डे बाँचेसम्म यही हुनेछ ।’ उनले प्रदेशको मातहतमा भएको भए विमानस्थल सञ्चालनमा आइसक्ने बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसिउद्दीन खानले विमानस्थल भैरहवाबासीको मात्र नभइ राष्ट्रिय गौरवको आयोजना भएको बताए । उनले विमानस्थललाई लक्षित गरेर व्यवसायी महंगो ब्याजदरमा बैंकबाट ऋण लिएर व्यवसायमा लगननी गरेको बताए । उनले विमानस्थल सञ्चालनका लागि दबाब दिन प्रदेशभरबाट हजारौं जनता आउन सक्ने चेतावनी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले २०७९ जेठमा उद्घाटन भएको विमानस्थल नियमित सञ्चालनको लागि धर्नामा बस्नुपरेको बताए । उनले भने, ‘कति कमजोर कुटनीति भएको सरकार यो देशमा छ । विमानस्थल चलाउन तदारुकता नदेखाउने सरकारबाट के अपेक्षा गर्ने ?’ उनले राज्य निकै अस्तव्यस्त भएको बताए ।
विमानस्थल उद्घाटन भएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेकोले आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । सञ्जालको चरणबद्ध आन्दोलन कार्यक्रम अन्तर्गत आइतबारदेखि धर्ना सुरु भएको ज्ञवालीले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वउपाध्यक्ष प्रेम कुमार सेन्चुरीले गठबन्धन सरकारले जनताको लागि कुनै काम गर्न नसकेको आरोप लगाए । उनले विमानस्थल सञ्चालनका लागि लुम्बिनी प्रदेशको जनता सडकमा उत्रिन बाध्य हुने बताए ।
होटल व्यवसायी महासंघ, नेपालका उपमहासचिव राजेश महोत्राले विमानस्थल सञ्चालनका लागि गरिएको आन्दोलनप्रति ऐक्वद्धता जनाए । उनले विमानस्थल सञ्चालनका लागि सरकारलाई निरन्तर घचघचाइरहेको बताए ।
विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जालले गत कार्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दे विरोध कार्यक्रम सार्वजनिक गरेको थियो ।

Leave a Reply