१० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

काठमाडौं । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ ।

फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेच्छा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ ।

फिल्मले बाबु छोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भए पनि अभिभावकका लागि भने शुल्क लाग्ने छ ।

यो सँगै ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए ।

उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो फिल्म धेरै भन्दा धेरै दर्शकहरूले हेरुन् भन्ने उद्देश्यसँगै नेपाली बालबालिकाहरूलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए ।

‘यसले नेपाली फिल्मको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ’, उनले भने, ‘म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।’

‘चित्रा’लाई आशिष थापा मगरले निर्माण गरेका हुन् । फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन् ।

महेश पौडेलले छायाँकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ । फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ ।

यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *