जनकपुरधाम । प्रदेश प्रहरी समायोजनसहितका ६ बुँदे माग राखेर मधेश सरकारले संघीय सरकारलाई दिएको एक महिने अल्टीमेटमको समय आज सकिएको छ ।
कात्तिक २३ मा मुख्यमन्त्री सरोज कुमार यादवसहित मधेश प्रदेशका सबै दलका नेताहरु काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक महिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।
अल्टिमेटमको समय सकिएलगत्तै मुख्यमन्त्री यादव काठमाडौं पुगेका छन् । शुक्रबार सांझ विमानबाट मुख्यमन्त्री यादव काठमाडौं पुगेका हुन् । उनले संवैधानिक अधिकारको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने बुझिएको छ ।
मुख्यमन्त्री यादवले नेपाल प्रेससँग भने, ’प्रधानमन्त्रीज्यूले आज हामीलाई बोलाउनु भएको छ । आज बिहान १०÷११ बजे सबै संसदीय दलका नेता भेट्छौं ।’ स्रोतका अनुसार प्रधानमन्त्रीले माग पूरा गर्न अझ केही समय माग्ने बुझिएको छ ।
संघीयतामा गएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार पाएको छैन् । मधेश प्रदेशका सबै दलले ३० दिनभित्र संवैधानिक अधिकार नदिए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
मधेस सरकारले प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थ सम्बन्धी समस्या र अभियोजन सम्बन्धमा मागहरु पूरा गर्नुपर्ने भनेको छ ।

Leave a Reply