निर्माण व्यवसायीको गुनासो- सरकारले उधारो सहमति गरेर ठग्यो

रुपन्देही । देशकै सबैभन्दा धेरै बजेट खर्च गर्ने निर्माण व्यवसायीहरु अहिले आर्थिक संकटमा परेको गुनासो गरेका छन् । सरकारसंग ठेक्का सम्पन्न भएपछि भुक्तानीको माग राखेर दबाब दिँदै आएको निर्माण व्यवसायीहरु धरासायी हुने अवस्था आएको बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले सरकारले उधारो सहमति गरेर ठगेको दुःखेसो गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले ठेक्काको कानुनी प्रक्रियामा झन्झटिलो, काम सम्पन्न हुँदा पनि सरकारबाट भुक्तानी नहुनेजस्ता कारण आफूहरु समस्यामा परेको बताए । सरकारसंग पुँजिगत खर्च नभएको कारण देखाएर सम्पन्न भएका कामको भुक्तानी रोक्न नमिल्ने उनले तर्क राखे ।

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष बुद्धिराज थापाले चरणबद्ध रुपमा १६ दिन काठमाडौंमा आन्दोलन गरेर उपलब्धी हासिल हुन नसकेको बताए । ‘सरकारले उधारो सहमति गरेर ठगेको उनले बताए । असोजसम्ममा किस्ताबन्दी रुपमा भुक्तानीको आश्वान पाएको भएपनि त्यो पूरा नभएको उनले गुनासो गरे ।

अहिले व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्ने गरि आफू अध्यक्षको उम्मेदबारी दिनेसमेत बताए । रुपन्देही जिल्लाको भैरहवामा मंसिर २९ र ३० गते हुने अधिवेशनको तयारीसंग व्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।

कार्यक्रममा पूर्वकेन्द्रीय उपाध्यक्ष रुद्र शर्मा, प्रदेश मानार्थ सदस्य भिमबहादुर श्रेष्ठले निर्माण व्यवसायीहरुप्रतिको आमनागरिकको दृष्टिकोण परिवर्तन हुने गरि नयाँ नेतृत्व आउनुपर्ने सुझाव दिए ।

संघका सल्लाहकार जबिन कक्षपतिले देशको कुल बजेटको ७० प्रतिशत खर्च गर्ने व्यवसायीहरुप्रति सरकार गम्भीर नभएको बताए । आफूहरुलाई ओझेलमा राखेर देशको आर्थिक विकासको सपना बाँड्नु गलत भएको उनले दाबी गरे ।

संघका संस्थापक अध्यक्ष भिमबहादुर श्रेष्ठलाई सम्मान तथा मैनाबगर आधारभूत निमाविलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका सहसचिव नवीन पुनले बताए । रुपन्देही जिल्लामा ४५० व्यवसायीहरु आवद्ध रहेका छन् । नेपालमा १६ हजार व्यवसायीहरु छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *