काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा पनि आन्दोलनको कार्यक्रम गर्न नपाउने गरी रोक लगाएको छ ।
शान्तिबाटिकामा धर्ना दिँदै आइरहेको मिटरव्याज पीडितहरु र आरती साहकी आमाबुबालाई समेत शान्तिबाटिकाबाट हटाउन लागेको हो ।
प्रहरी वृत्त दरबारमार्गका डिएसपीकाे टाेलीले बिहीबार पीडितहरुलाई ठाँउ खाली गराउन आदेश दिएकाे थियाे । प्रहरीले उनीहरुलाई शान्तिबाटिकाबाट हटाउन लागेपछि पीडितहरुले प्रदर्शन गरेका छन् । आज बिहान उनीहरुले शान्तिबाटिकामा प्रदर्शन गरेका हुन् । सीडीओ कार्यालयले माइतीघरमा समेत आन्दाेलन गर्न नपाउने गरी निषेधाज्ञा लगाएकाे छ ।
शान्तिपुर्ण प्रर्दशन गर्ने लोकतान्त्रिक परिधीमा निषेधाज्ञा लगाएर सरकारले अधिनायकवादी चरित्र देखाइरहेको उनीहरुको आरोप छ ।

यस्तै मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेको पीडितहरुलाई हटाएर सरकार सुदखोरको प्रभावमा परेको आरोप उनीहरुको छ ।
गठित मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल विगत ३८ महिनादेखि निरन्तर आन्दोलनरत छ । गत चैत्रको २० गतेदेखि काठमाडौं स्थित शान्तिवाटिकामा निरन्तर धर्ना तथा स्थानीय स्तरमा मिटर ब्याज विरुद्ध विभिन्न लगातार ५ दिनसम्म गृहमन्त्रालयको जनसंघर्षका कार्यक्रमहरु भइरहेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘हामीले आफ्ना मागहरुलाई ६ बुँदामा तयार गरेका थियौं । ती ६ बुँदे माग सहित वार्ता मा बसेका थियौँ । तर सरकार पक्षले मिटर ब्याज समस्याको यथोचित समाधानका लागि सकारात्मकता नदेखाएपछि हामीले वार्ता भङ्गको घोषणा गरी संघर्षलाई निरन्तरता दिएका हौं । विभिन्न ४२ जिल्लामा हाम्रो संघर्षको कार्यक्रम निरन्तर चलिरहेको छ । केन्द्रिय अभियानको रुपमा काठमाडौँ स्थित शान्तिवाटिकामा धर्ना भइरहेको छ ।’
सरकार पटक पटक आफ्नो असक्षमता ढाकछोप गर्न र समस्या समाधान भयो भन्ने हौवा पिट्न लागि परिरहेको उनीहरुको भनाइ छ।
पछिल्लो केही दिनदेखि पटक पटक प्रहरी धर्ना स्थलभित्र आइ सरकारी आतंक थोपर्ने प्रयत्न भइरहेको उनीहरुको आरोप छ । सरकार, अदालत, प्रहरी र स्थानीय प्रशासनले पीडितलाई न्याय दिनुको साटो मिटर ब्याजी सुद्खोरको प्रलोभन र दबाबमा क्रमिक रुपले थप त्रासित एवम् आतंकित बनाउँदै आएको उनीहरुले आरोप लगाएका छन्। ‘यसो हुँदा हामी आफ्नो न्यायका लागि शान्तीपूर्ण आन्दोल गर्न पाउने आधारभूत मानव अधिकारको प्रयोग गर्दै आवाज बुलन्द पार्न र जस्तोसुकै संघर्षमा होमिन तयार छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply