काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकको निर्णय सार्वजनिक गर्दै मोहन वैद्यले संयुक्त सरकारको अवधारणा अघि सारेका हुन् ।
देशको अहिलेको संकट समाधान गर्न अघि सारिएको अवधारणामा अस्थायी संयुक्त सरकारका काम के के हुने उल्लेख छ ।
राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस सरकारले संघर्षका उपलब्धिहरूको रक्षासहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पूँजीवाद, सामन्तवाद र साम्राज्यवादविरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ ।’
देश र जनताका लागि वर्तमान राज्यसत्ता, व्यवस्था र संसदवादी राजनीतिक दलहरुको विरोधमा पार्टीले सशक्त क्रान्तिकारी र अग्रगामी विकल्प चाहिएको निष्कर्ष निकालेको छ ।


Leave a Reply