काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न आरोपमा २४ जनालाई जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्याय पाएको प्रतिक्रिया दिएका छन् । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ र बाहिर रहेका ११ जना मध्ये एक जना गरेर २४ जनालाई जन्मकैदको फैसला सुनाएको लगत्तै नवराज विकको आमा उर्मिला विकले आफुहरुले न्याय पाएको महसुश गरेको नेपाल प्रेससँग बताइन् ।
उनले भनिन, ‘हामीले छोरा त गुमायौं, गुमायौं, न्याय पाउँदैनौ कि भन्ने डर र शंका लागिरहेको थियो । जे होस् जिल्ला अदालत रुकुम पश्चिमले हामीलाई न्याय दिएको छ । जिल्ला अदालतका न्यायाधीश ज्यूलाई धेरै धेरै धन्यवाद । अब हाम्रा छोराको आत्माले पनि शान्ति पाउनेछ ।’
नवराजकी आमा उर्मिलाले आफ्नो छोरासँग प्रेम गर्ने केटी, उनकी आमा र भाइलाई भने थोरै सजाय भएकोमा दुख व्यक्त गरेकी छन् । उनले भनिन्, ‘हाम्रा छोरालाई मार्नका लागि आदेश दिने केटी, केटीको आमा र भाइलाई दुई वर्ष मात्रै सजाय भएको सुने । त्यसले अलिकति मन दुखाएको छ । ति तीनैलाई पनि जन्मकैदको सजाय हुनुपर्ने थियो । त्यो भएन । यसमा अलिकति दुख लागेको छ ।’
जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार घटनामा संलग्न रहेकामध्ये २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको छ ।

Leave a Reply