रुपन्देही । बुटवलका व्यवसायी दीपक विश्वकर्माको परिवारले आमाको स्मृतिमा कोष बनाएर समाजमा विभेदमा परेर पढ्न नपाएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन थालेका छन् । कोषमार्फत यसैवर्षमात्र बुटवल क्षेत्रका सामुदायिक विद्यालयका ४१ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
विश्वकर्मा परिवारले तीन वर्षअघि निधन भएकी आमाको नाममा इन्द्रज्योति विश्वकर्मा कल्याण समाज स्थापना गरेको छ । स्वर्गीय इन्द्रमतिको तेस्रो वार्षिक पुण्यतिथिको अवसरमा सोमबार बुटवलमा एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरिएको हो ।
समाजका संरक्षक ज्योतिलाल विश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले २२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत ४१ जना दलित बालबालिकालाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेका छन् ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका- ६ घर भै बुटवलमा बस्दै आएको विश्वकर्मा परिवारकी सदस्य इन्द्रमतिको २०७७ सालमा निधन भएपछि उनको स्मृतिमा स्थापना गरिएको कल्याण समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
छात्रवृत्ति बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयबाट तथ्यांक संकलन गरी छनोट गरिएको समाजले जनाएको छ ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले समुदायमा छुवाछूतका रुपमा विसंगति र विकृतिले जरो गाडेर बसेकाले त्यसलाई सबै मिलेर तोड्नुपर्ने धारणा राखिन् ।
समाजका अध्यक्ष विश्वकर्माले शिक्षाबाट बन्चित विपन्न र दलित बालबालिकालाई शिक्षा र सीप सिकाउन सहयोग गर्ने लक्ष्य लिइएको बताए ।
संस्थाका संरक्षक ज्योतिलाल विकले सामाजिक क्षेत्रमा सेवा गर्ने परिवारको चाहनाअनुसार संस्था बनाइएको र समाजले स्याङ्जा कालीगण्डकी गाउँपालिका- ६ मा रहेको ध्रुवज्योति माविलाई वार्षिक रुपमा १ लाख रुपैयाँ सहयोग प्रदान गर्दै आएको बताए ।

Leave a Reply