गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानकाे माग गर्दै नाट्टाले बुझायाे ज्ञापन पत्र

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गर्दै नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधि मन्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

महानिर्देशक अधिकारीको कार्यकक्षमा पुगेर नाट्टाको टिमले जतिसक्दो छिटो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन अनुरोध गरेको हो । ज्ञापनपत्र बुझेपछि अधिकारीले क्यानले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमत संचालन गर्न कुनै कमी नगर्ने प्रतिबद्धता जनाएका छन् ।

नाट्टाको टिमले सोमबार नै काठमाडौंस्थित एशियाली विकास बैंकका नेपाल प्रतिनिधिलाई समेत भेटेर ध्यानाकर्षण गराएका छन् । सो भेटमा नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडिबीको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडिबीले सक्रियता देखाउन आग्रह गरेका थिए ।

नाट्टासँगको छलफलमा एडिबीका प्रतिनिधि हेमन्त तिवारीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलको सचालनमा सरकारले नै सक्रियतापूर्वक कदम चाल्नुपर्ने बताए । यसैगरी एडिबीको नेपालस्थित यातायात विज्ञ भुपेन्द्रचन्द भट्टले नाट्टाको तर्फबाट राखिएको चासोलाई गम्भीरतापूर्वक लिएको बताए ।

नाट्टा लुम्बिनी टिमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताको लागि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपाल बायुसेवा निगमलाई ज्ञापनपत्र बुझाएको थियो ।

उता भैरहवामा रहेका संघसंस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु नभए सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । सिद्धार्थ सन्जालले यही मंसिर २२ गते भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन व्यापक विभिन्न संघसंस्थाको सहभागितामा विमानस्थल अगाडि प्रदर्शन गर्ने घोषणा सोमबार गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *