गैरकानूनी तरिकाले विदेश पठाउने संस्थामा श्रम कार्यालयको छापा

रुपन्देही । श्रम कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमास्थित एक प्रशिक्षण केन्द्रमा गैरकानूनी ढंगले विदेश पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको समयमा छापा मारेको छ ।

तिलोत्तमा नगरपालिका ४ नयाँ मिलस्थित तिलोत्तमा ट्रेनिङ एण्ड टेष्ट सेन्टरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल नेतृत्वको टोलीले आइतबार छापा मारेको हो ।

अनुगमनमा जाँदा अनुमति लिइएको भन्दा फरक काम गरेको पाइएकाले उक्त सेन्टरलाई कारबाही गरिएको उपसचिव भुसालले बताए ।

‘घर बनाउने, इलेक्ट्रिक वेल्डिङ गर्न सिकाउने भनी दर्ता गरेको फर्ममा गैरकानुनी ढंगले खाडी मुलुकमा जनशक्ति सप्लाई गरेको भेटियो,ु त्यसैले कारबाही अगाडि बढाएका छौं’ भुसालले भने ।

श्रम कार्यालयले जफत गरिएका कागजातमाथि अनुसन्धान गरी वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए। ‘तालिम दिने उद्देश्यले दर्ता गरेको कम्पनीले सर्वसाधारणलाई झुक्याएर लोडिङ, अनलोडिङ, क्लिनर जस्ता काममा विदेश पठाउने गरेको पाइयो’, भुसालले भने ।

यस्तै, अनुगमन टोलीका अनुसार उनीहरूले वैदेशिक रोजगारीमा पठाउने कम्पनी भन्दै रकम असुली गरेको पाइएको हो ।

२०७६ सालमा प्रकाश गैरेले कम्पनी रजिष्ट्रार कार्यालय सेन्टर दर्ता गरेका छन्। उक्त सेन्टरले दैनिक १० देखि २५ जनासम्म साउदी अरब, दुबई, कतार लगायत मुलुक पठाइदिने भन्दै अन्तर्वार्ता लिने गरेको पाएको भुसालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *