रुपन्देही । रुपन्देहीको लुम्बिनी क्षेत्रमा शनिवार बिहान निकै दर्दनाक घटना भयो ।
शनिवार पनि सञ्चालन हुने त्यहाँको कालीदह मदरसामा बहिनी र भदैनीलाई मोटरसाइकलमा पुर्याउन गएका स्थानीय मोहम्मद इसादलाई स्कुल बसले ठक्कर दिँदा उनीसहित बहिनीले घटनास्थलमै ज्यान गुमाउनुपर्यो । ठक्करबाट उनकी भदैनी गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ ।
शनिवार बिहानै करिब ९ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–क्रकहवा सडक खण्डमा भएको यो दुर्घटनाले मदरसा पुराउन गएका इसाद त फर्किएनन् नै उनको परिवारमा ठूलो बिचल्ली भएको छ ।
लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ स्कुलको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घघटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था गम्भीर छ ।
स्थानीय वीरेन्द्र मिश्रका अनुसार परिवारमा मेहनती इसादको अकल्पनीय निधनले परिवारमा मात्रै होइन त्यो गाउँ नै शोकमा डुबेको छ ।
बहिनी रूपसना र अप्सरा (भदैनी)लाई मदरसा लैजाँदै गरेको समयमा मदरसा नपुग्दै दाजुबहिनीको दुर्घटनामा मृत्यु भएको हो । भदैनी गम्भीर घाइते छन् । मोटरसाइकलमा तीन जना सवार थिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी मात्रै गरेनन् मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेपछि दिनभरजसो सो क्षेत्र तनावग्रस्त बन्यो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए ।
‘वडा नम्बर ४ अमारी गाउँका छेदी मुसलमानका इसाद र रुपसना छोराछोरी हुन्,लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदहस्थित बहिनी र भदैनी (दाइको छोरी)लाई मदरसा छोड्न जाँदै थिए । बाटोमा गाडीको ठक्करबाट इसाद र रुपसनमा मृत्यु भयो । नातिनी घाइते छन्’ उनले भने ।
मदरसा मुस्लिस समुदायका बालबालिका पढ्ने शैक्षिक संस्था हो । मदरसा शनिवार पनि खुल्ने गर्छ ।
स्थानीयका अनुसार शनिवार स्कुल बस केही स्थानीयलाई लिएर तीर्थयात्रामा जाँदै थियो तर बस चालक फरार रहेको र व्यवस्थापन समितिका व्यक्तिहरू पनि सम्पर्कमा नआएकाले समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहरप्रसाद भट्टले घटनाको छानबिन गर्ने स्थानीयसँगको सहमतिपछि शव पोष्टमार्टमका लागि भैरहवा ल्याइएको जनाए ।
उनले स्थानीयले आफूहरूलाई त्यो बस केही स्थानीयलाई लिएर क्ररहवा नाकातिर जाँदै गरेको सूचना दिएको, र त्यहाँ मुण्डनका लागि जाँदै गरेको सूचना दिएको र घटनाको छानबिन भइरहेको बताए ।

Leave a Reply