एमालेको मध्यपहाडी अभियान–लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन (भिडिओ)

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ ।

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बतए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने पनि बताए ।

लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने बताए । उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरि पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको बताए ।

उनले भने,‘यस पटकको यात्रामा पुष्पलाल लोकमार्गको सन्दर्भमा हामीले केही महत्वपूर्ण अनुभव संग्रहित गर्छौं । यस लोकमार्गको एलाइमेण्टलाई अझ छोटो पार्ने उपाय के हुनसक्छ ? त्यसतर्फ पनि हाम्रो ध्यान जान्छ । विषय विज्ञहरुको टिम पनि साथमा रहन्छ । दूरीलाई छोटो पार्ने उपाय के हुनसक्छन् ? त्यसमा ध्यान जान्छ । हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा यसको स्तरोन्नति गर्नेतर्फ हामी के गर्नुपर्छ, त्यस्मा ध्यान दिनेछौँ । दूरी छोटो गर्ने सन्दर्भमा ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन कहाँ गर्ने हो, त्यो पनि अध्ययन गर्छौं । पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा उहाँहरु झापा झरेर होइन पुष्पलाल लोकमार्गको बाटो आउन सक्नुहोस् । दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर होइन, पुष्पलाल लोकमार्ग हुँदै आउन सक्नुहोस् । राजधानीबाट सुदूरपूर्व र सुदूरपश्चिमको पहाडी जिल्लामा जाँदा पनि त्यही बाटो भएर जान सकियोस् भन्ने स्तरमा सडकको स्तरोन्नति गर्न चाहेका छौँ ।’

नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेची अभियान शुरु गरेको हो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो ।

१८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ ।

लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।

Comments

One response to “एमालेको मध्यपहाडी अभियान–लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन (भिडिओ)”

  1. Babu boy Avatar
    Babu boy

    Yamale ko patrukar le yamaleko post chahi tanai गर्छ. Ghar bebar राम्ररी चलेको छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *