जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्यूनिस्टले देश बर्बाद पारेको आरोप लगाएका छन् ।
महोत्तरीको एकडरामा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ’बहुदलीय व्यबस्था आएपछि ३४ वर्षसम्म कांग्रेस र कम्युनिस्टले शासन गर्यो । तर देशको तरक्की हुन सकेन् । यसको जिम्मेवारी कसले लिन्छ ?’
अध्यक्ष यादवले बहुदलीय व्यवस्था आउनु अगाडी देश बर्बाद पारेको जिम्मा राजतन्त्रले र त्यसपछिको जिम्मा कांग्रेस– कम्युनिस्टले लिनुपर्ने बताए । कांग्रेस र कम्यूनिस्टमाथि आक्रोश पोख्दै उनले भने, ’शिक्षा बर्बाद भयो । उद्योगधन्दाहरु बन्द भयो । कृषि र स्वास्थ्य संस्थाहरु बर्बाद भयो । वन जंगल विनाश भयो ।’
उनले कांग्रेस र कम्युनिस्टले शासन गर्दा देशमा भ्रष्टाचार, कमिशनतन्त्र, लुटतन्त्र र अपराध मात्र बढेको बताए । ३४ वर्षमा देशले तरक्की गर्न नसकेको र अहिले पनि तरक्कीको सम्भावना नरहेको दावी गरे ।
अध्यक्ष यादवले देशको तरक्की र किसानको जीवनमा परिवर्तन ल्याउन कृषि आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । उनले स्कूलमा राम्रो शिक्षा दिन, अस्पताल सुधार्न, गाउँघरमा उद्योग कलकारखाना खोल्न लगायतका काम गर्न आवश्यक रहेको बताए ।
उनले भने, ’कांग्रेस र कम्यूनिस्टले न देशको बनाउन सक्यो, न जनतालाई अधिकार दिन सकिरहेका छन्, न लोकतन्त्रको रक्षा गर्न सकिरहेको छ ।’ आफूहरु राम्रो काम गर्न सहयोग गरिरहेपनि केहि सकिरहेको उनको भनाई छ ।

Leave a Reply