काठमाडौं । १२ वर्षपछि हुन लागेको नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय प्रतिनिधि बोलाइने नेपाल स्काउटले जनाएको छ ।
लामो समयपछि हुन गइरहेको निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन विश्व स्काउट संगठन ओजम र वाग्सका प्रतिनिधिहरुलाई पर्यवेक्षणका लागि आधिकारिक निमन्त्रणा पठाइसकेको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जानकारी गराएको हो ।
नेपाल स्काउटको स्थानीय परिषद्हरुको निर्वाचन आगामी पौष २७ देखि २९ सम्म तथा नेपाल स्काउटको प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ०६ गते शनिबारका दिन गर्ने गरी तोकिएको छ ।
२०६८ सालमा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुनसकेको थिएन । २०७० सालमा तत्कालिन प्रमुख आयुक्तले राजीनामा दिएपछि नेपाल स्काउट तदर्थ समितिको भरमा चल्दै आइरहेको छ ।
बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाको क्षेत्रमा सात दशकदेखि काम गर्दै आइरहेको नेपाल स्काउटमा स्काउट ऐन २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भएपनि राजनितिक हस्तक्षेपका कारण स्काउटमा १२ वर्षसम्म निर्वाचन हुन सकेको छैन ।
हाल नेपाल स्काउटमा लोक बहादुर भण्डारी नेतृत्वको पाँच सदस्यीय तदर्थ समिति रहेको छ । समितिले गत मंसिर ८ गते सुचना जारी गर्दै नेपाल स्काउटको तीनै तहको निर्वाचन मिति तोकेको हो ।

Leave a Reply