देशभरीका कारागारमा योग शिविर चलाइदैँ, नक्खु कारागारबाट सुरु गरिने

काठमाडौं । देशभरीका कारागारमा योग शिविर सञ्चालन हने भएको छ । गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा पनि योग शिविर सञ्चालन गर्न लागिएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बैठकमा गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्वप्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंहराना सहभागि थिए ।

प्रेस सल्लाहकार गिरीका अनुसार एक महिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् । पटक–पटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराइने छ।

यसअघि नक्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *