योगदानकर्ताका सन्ततिलाई औषधी उपचार सुविधा दिने तयारीमा सामाजिक सुरक्षा कोष

काठमाडौं । सामाजिक सुरक्षा कोषले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तरगत आवद्ध भएका श्रमिकका सन्ततिलाई पनि उपचार सुविधा दिने तयारी अघि बढाएको छ ।

यस अघि योगदानकर्ता र योगदानकर्ताको दम्पतीलाई मात्रै उपचार सुविधा दिँदै आएको कोषले योगदाकर्ताको सन्ततिलाई समेत औषधी उपचार प्रदान गर्ने गरी सुविधाको विस्तार गर्ने योजना अघि सारेको कोषले जनाएको छ ।

सुरुमा कोषले योगदानकर्ताको मात्रै औषधी उपचार खर्च व्यहोर्दै आएकोमा कार्यविधिको तेस्रो संशोधनमाफर्त यस अघि नै योगदानकर्ताको पति वा पत्नीकोसमेतको उपचार सुविधा व्यहोर्ने र योगदानकर्ताको घातक रोगको दश लाखसम्मको उपचार खर्च कोषले भुक्तानी गर्ने गरी सुविधा थप गरिसकेको छ ।

औपचारिक क्षेत्रका लागि सञ्चालितः सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ समय अनुसार संशोधन गर्दै कोषले दिएरहेका सुबिधालाई पनि योगदानकर्तामैत्री बनाउदैँ लगिएको कोषका प्रवक्ता एवम उप–कार्यकारी निर्देशक विवेक पन्थीले नेपाल प्रेसलाई जानकारी दिए ।

कोषको सुविधा उपलब्ध गराउने ७० अस्पतालबाट अनलाइन सुविधा

कोषले सञ्चालन गर्ने स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजना अन्तर्गतका सुविधा यसै आर्थिक वर्षदेखि योगदानकर्ताले कोषको प्रणालीसंग आवद्ध स्वास्थ्य संस्थामार्फत सोझै नगदरहित (अनलाईन) रुपमा नै दिन थालिएको छ । अहिलेसम्म कोषको सुविधा प्रदान गर्ने अस्पतालको संख्या ७० रहेकोमा यो संख्या क्रमस बढाउदै लिने कोषको योजना छ ।

साढे नौ हजार भन्दा बढी योगदानकर्ताले करिब पौने दुई अर्व सहुलियत पूर्ण कर्जा लिए

कोषले चालू आर्थिक वर्षको लागि योगदानकर्ताको योगदान रकममा वार्षिक ७.५ प्रतिशतका दरले ब्याज दर तोकेको छ । यसका अतिरिक्त योगदान रकममा प्रतिफलसमेत दिँदै आएको छ । यस्तो प्रतिफल रकम आर्थिक वर्ष २०७८–०७९ मा व्याजका अतिरिक्त योगदान रकमको १.२५ प्रतिशतका दरले सम्बन्धित खातामा जम्मा गरेको थियो ।

यसै गरी योगदानकर्तालाई कोषले धितोमा आधारित घर र शैक्षिक सापटीको लागि वार्षिक ९.२५ प्रतिशत र विशेष सापटीका लागि वार्षिक ८.६ प्रतिशत व्यज दर कायम गरेको छ । योगदानकर्ता सापटी अन्तर्गत अहिलेसम्म नौ हजार ७६४ जना योगदानकर्ताले एक अर्व ७५ करोड ६० लाख सहुलियत पूर्ण व्याज दरमा सापटी लिइसकेका छन् ।

चार प्रदेशका पाँच ठाउँमा सम्पर्क कार्यालय स्थापना

कोषको संगठनात्मक बिस्तार गरी केन्द्रीय कार्यालय बाहेक पाँच वटा प्रदेशमा सम्पर्क कार्यालय स्थापना भएका छन् । जसमा कोशी प्रदेशको बिराटनगरमा, मधेश प्रदेशको सिमरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्जमा तथा गण्डकी प्रदेशको पोखरामा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रवाह भइरहेको छ ।

वैदेशिक रोजगारीमा गएका करिव पौने पाँच लाख युवा सामाजिक सुरक्षा कोषमा आवद्ध

वैदेशिक रोजगारीमा रहेका नागरिकलाईसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी गत चैत्र आठ गतेबाट नै वैदेशिक रोजगारीमा जाने युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि कार्यबिधि कार्यान्वयनमा ल्याएर अहिलेसम्म ४ लाख ६८ हजार योगदानकर्ता कोषमा सुचिकृत भईसकेको कोषले जनाएको छ ।

यसै गरी कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार क्षेत्रमा रहेका व्यक्तिका लागिसमेत सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेको छ । त्यसका लागि बिभिन्न स्थानीय तहसँग सम्झौतासमेत भइसकेको प्रवक्ता पन्थीले बताए ।

उनका अनुसार कोषमा अहिलेम्म औपचारिक क्षेत्रका चार लाख ६२ हजार चार सय र बैदेशिक क्षेत्रका चार लाख ६८ हजार पाँच सय जना श्रमिक आवद्ध भइसकेका छन् भने अनौपचारिक क्षेत्रको कार्यविधि कार्यान्वयका लागि सात वटा स्थानीय तहले सम्झौता गरिसकेको र अन्य स्थानीय तह सम्झौता गर्ने क्रममा रहेका छन् । यसैगरी अहिलेसम्म कोषमा योगदानकर्ताको योगदान वापत ४४ अर्व ८६ करोड १४ लाख रकम जम्मा भइसकेको छ ।

आज भन्दा छ वर्ष अघि औपचारीक क्षेत्रबाट शुरु भएको सामाजिक सुरक्षा योजना अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रमासमेत लागु भई कोषको दायरा बिस्तार हुनुका साथै सबैका लागि सामाजिक सुरक्षाको लक्ष्य प्राप्तिमा सहजता भएको कोषको भनाई छ ।

विभिन्न योजनाबाट करिव साढे ६ अर्ब रकम योगदानकर्तालाई भुक्तानी

कोषले सञ्चालन गरिरहेका सुरक्षा योजना अन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर रुपमा अघि बढिरहेको कोषको दाबी छ । अहिलेसम्म कोषले सञ्चालन गरेका विभिन्न योजनामार्फत ६ अर्ब ४५ करोड ६६ लाख ६८ हजार योगदानकर्ता र उनका परिवारलाई दाबी भुक्तानी लिइसकेका छन् ।

जसमा औषधी उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा एक लाख ४३ हजार द४२ वटा दाबीमार्फत ७६ करोड २५ लाख ५९ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा तीन हजार ६८५ वटा दाबीमार्फत आठ करोड ७७ लाख २९ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ४१४ श्रमिकका परिवारलाई ११ करोड ३० हजार र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत पाँच अर्ब ४९ करोड ६३ लाख ५० हजार दाबी भुक्तानी भइसकेको छ ।

असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ आज भन्दा ठीक छ वर्ष अगाडी योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भ भएको थियो । त्यसै दिनको सम्झनामा सामाजिक सुरक्षा दिवस मनाउन सुरु गरिएको हो ।

सामाजिक सुरक्षा दिवस सोमबार छैटौँ वर्षमा प्रवेश गरेको छ । यस छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले सामाजिक सुरक्षा कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रारम्भ, विकाश र विस्तारमा सहयोग पुर्याउने सबैलाई धन्यवाद पनि ज्ञापन गरेको छ ।

२०६७ चैत्र ६ गते सामाजिक सुरक्षा कर संकलनका लागि प्रारम्भ भएको सामाजिक सुरक्षा कोष स्थापना भएको १२ वर्ष पुरा भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालनमा आएको सोमबार छैटौँ वर्षमा प्रवेश गरेको छ । २०७५ मंसिर ३ गतेको मन्त्रीपरिषद्को निर्णयबाट मंसिर ११ गतेलाई ‘सामाजिक सुरक्षा दिवस’को रुपमा घोषणा भई मनाउने निर्णय भए अनुसार हरेक वर्ष सामाजिक सुरक्षा दिवस मनाउने गरिएको हो ।

नेपालको संविधानले मौलिक हकको रुपमा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा स्थापित गरेपछि जारी भएको श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लगायत अन्य कानुनी व्यवस्थापछि २०७५ मङसिर ११ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

सामाजिक सुरक्षा कोष श्रम संगठन, रोजगारदाता र सरकारसमेतको त्रिपक्षीय प्रयास एवं समझदारीबाट अहिलेको अवस्थामा आइपुगेको कोषको भनाई छ ।

अहिलेको अवस्था सामाजिक सुरक्षा योजना कार्यान्वयनको दृष्टिबाट सुरुवात मात्रै भएको भन्दै कार्यान्वयनका क्रममा देखिएका कानूनी अष्पष्टता तथा व्यवहारिक कठिनाइको समाधान गर्ने र सुरक्षा अवधारणाको पर्याप्त मात्रामा बुझ्ने तथा बुझाउने कार्य त्रिपक्षीय रुपमा हुँदै आइरहेका कोषले जनाएको छ । सबैका लागि सामाजिक सुरक्षा प्रदान गर्ने यस अभियानलाइ सार्थक बनाउन कटिबद्ध भएर अगाडि बढ्ने कोषले प्रतिबद्धता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *