नाम निकालेर पनि नियुक्ति लिन नआएपछि सडक विभागले जागिर खान बोलायो

हेटौँडा । मानिसहरु सरकारी जागिरको लागि निकै प्रयत्न गर्छन । वर्षौको कठिन मेहनत गरेर नाम निस्केपछि उनीहरु खुशी हुन्छन् । नेपालमा वर्षेनि लाखौँ युवाहरु लोकसेवा तयारीमा जुटने गरेका छन् । तर केही हजारौको मात्र सपना पूरा हुने गरेको छ ।

तर लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभाग काठमाडौँले आग्रह गरेको छ । अझ सिधा भाषामा भन्दा सडक विभागले नाम निक्लेर पनि जागिर खान नआएका ९ जनालाई जागिर खाइदिन अनुरोध गरेको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ । उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराइन्छ ।’

नियुक्ति लिन नआएकाहरु ७ जना पुरुष र २ महिला रहेका छन् । उनीहरु प्राविधिक नायब सुब्बाको नियुक्त लिन नआएका हुन् । तर उनीहरुले अन्यत्र नाम निकालेर नआएको वा के कारणले नआएको भन्नेबारे चाहिँ खुलेको छैन । उनीहरुले विभागले निकालेको सूचनाको मितिसम्म नियुक्तिपत्र नबुझे वैकल्पिक उम्मेद्वारले स्थान पाउनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *