विराटनगर । नेकपा एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानलाई अवरोध गर्ने गरी पहिचानवादीहरूले कार्यक्रमहरू तय गरेका छन् ।
एमालेले सुरु गरे गरेको अभियानलाई लक्षित गरेर प्रदेशको नामकरण पछि असन्तुष्ट भएको प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले प्रतिरोधको कार्यक्रम तय गरेको हो ।
नेकपा एमालेले मङ्सिर १४ गतेबाट झुलाघाटबाट मध्य पहाडी लोक मार्ग विशेष अभियान सुरु गर्दै छ ।
मध्यपहाडी लोक मार्ग आसपासको समृद्धिको सम्भावना र समस्या पहिचान गर्ने उद्देश्यले सुरु भएको अभियान मङ्सिर २६ गते उदयपुर र खोटाङको सिमाना घुर्मीमा आइपुग्ने छ ।
पार्टीका शीर्ष नेताहरु सम्मिलित अभियान अन्तरगत सोही दिन एमालेले घुर्मीमा सभा गर्ने तयारी गरेको छ ।
केन्द्र, प्रदेश र स्थानीय नेता कार्यकर्ताहरूको टोली सो दिन खोटाङको दिक्तेले गएर बस्ने योजना रहेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।
उनका अनुसार एमालेको मध्यपहाडी लोक मार्ग यात्रा २७ गते भोजपुर, २८ गते तेह्रथुमको वसन्तपुर २९ गते तेह्रथुमको आठराई र ३० गते पाँचथरको फिदिममा पुग्ने छ ।
यात्राका क्रममा स्थानीयसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याका बारेमा जानकारी लिने खतिवडाले बताए ।
पहिचानवादीले भने सोही समय ‘कोशी’ नाम खारेजीको माग गर्दै ‘घुर्मी–चिवाभञ्ज्याङ जनजागरण अभियान’ सञ्चालन गर्ने भएका छन् ।
सङ्घर्ष समितिले प्रदेशको सिमाना प्रवेश गर्दा ‘कोशी’ लेखेको ब्यानर, पर्चा प्रयोग नगर्न तथा ‘कोशी’ नामको लागि हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरूलाई कार्यक्रममा सहभागी नगराउन एमालेलाई चेतावनी दिएको छ ।

Leave a Reply