पैसासमेत चाेरी हुन सक्ने भन्दै भीपीएन र ओपन डीएनएसबाट टिकटक नचलाउन सरकारको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रि भीपीएन र ओपन डीएनएसमार्फत टिकटक नचलाउन आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत टिकटकको वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसमार्फत टिकटक चलाइरहेकाले यसबाट व्यक्तिगत डाटा चोरी हुने, गोपनियता सुरक्षित नहुने, बैंक खाताबाट पैसासमेत चोरी हुने भन्दै नचलाउन आग्रह गरेको हो ।

‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनियता सुरक्षित नहुने, ईमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ’, मन्त्रालयका सहसचिव एवम प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टिकटक बन्द गराउन निर्देशन दिइसकेको छ ।

टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरबाट व्यापक समर्थन भइरहेको पनि मन्त्रालयको दाबी छ ।

Comments

One response to “पैसासमेत चाेरी हुन सक्ने भन्दै भीपीएन र ओपन डीएनएसबाट टिकटक नचलाउन सरकारको आग्रह”

  1. Ram Krishna Kafle Avatar
    Ram Krishna Kafle

    जनता सँग पैसा नै छैन भने कसरी चोरी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *