काठमाडौं । काठमाडौंमा मंसिर ७ गते गणतन्त्रको विरोधमा प्रदर्शन गर्न लागेका दुर्गा प्रसाईंले लाखौं मानिस काठमाडौं उतारेको दाबी गरिरहेका छन् । तर, यतिका मानिसहरुलाई खाने बस्ने प्रवन्ध उनले कसरी मिलाउँछन् भन्ने चासो छ ।
हिजो एक अन्तर्वार्तामा प्रसाईंलाई पत्रकार ऋषि धमलाले यस विषयमा सोधेका थिए । जवाफमा प्रसाईंले खान-बस्न कुनै समस्या नहुने बताए । काठमाडौं आएका आफ्ना ४० हजार मान्छेलाई बबरमहलको कार्की बैंक्वेटले खाना खुवाउने प्रतिबद्धता जनाएको समेत उनले दावी गरेका थिए ।
खर्च व्यवस्थापनका विषयमा प्रसाईंले भनेका छन्, ‘एकजना गुरु (पुष्कर खतिवडा)ले १६ सय वटा गाडीको पैसा तिरिदिनुभयो । हिजो मात्रै काठमाडौंको कार्की बैंक्वेटले ४० हजार मान्छेलाई खाने र बस्ने सुविधा दिन्छु भनेर घोषणा गर्नुभएको छ । काठमाडौंको बागबजारका होटल सबैले दिने भए ।’
यो अन्तर्वार्तापछि कार्की बैंक्वेटका सञ्चालक भने तनावमा परेका छन् । नेपाल प्रेससँग कुरा गर्दै बैंक्वेटका सञ्चालक डीबी कार्कीले प्रसाईंले झूटो कुरा बोलेको बताए ।
‘मेरो उहाँसँग दोहोरो चिनजान र बोलचालसमेत छैन । यो सम्भव नै नहुने कुरा हो’, कार्कीले भने ।
आफूलाई अहिले यस विषयमा चासो राख्दै तारन्तर फोनहरु आइरहेको उनले बताए ।
‘उहाँले यस्तो कुरा किन गर्नुभयो मलाई थाहा छैन । मैले यस विषयमा मेरो कानून व्यवसायीसँग समेत कुरा गरें । भन्दै नभनेको विषय यसरी हल्ला गर्दा भोलि हामीलाई त असर पर्छ नि’, उनले भने ।
विवादास्पद विषय भएकाले सीडीओ कार्यालयबाट अनुमति लिएरै आएको अवस्थामा पनि आफूहरुले सोच्नुपर्ने कार्की बताउँछन् । प्रसाईंसँग आफ्नो एक पटक पनि भेट नभएको उनले प्रस्ट पारे ।
‘केपी ओली प्रधानमन्त्री भएका बेला ब्यांक्वेटमा एमालेले एउटा कार्यक्रम गरेको थियो । त्यतिबेला ओली र प्रसाईं मेरो अफिसमा बसेको भन्ने कर्मचारीले पछि बताएका थिए । त्यो ४-५ वर्षअघिको कुरा हो । त्यतिबेला मैले उहाँलाई भेटेको थिइनँ । अन्य अवसरमा उहाँ कार्की ब्यांक्वेटमा आएको पनि याद छैन’, कार्कीले भने ।
स्रोतका अनुसार सञ्चालक कार्कीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयंले फोन गरेर चासो राखेका थिए । ‘४० हजार मान्छेलाई खुवाउन लाग्नुभएको हो ?’ भनेर गृहमन्त्रीले सोध्दा आफूले यो झूटो प्रचार भएको जवाफ दिएको कार्कीले बताए ।

Leave a Reply