सर्वोच्चमा सिफारिससँगै प्रधानन्यायाधीशको लाइनमा बसे टेकप्रसाद ढुंगाना, यस्तो छ रोलक्रम

काठमाडौं । न्याय परिषद्ले यसअघि मिचिएको रोलक्रम सच्याउँदै टेकप्रसाद ढुंगानालाई भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्ने गरी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबारको न्याय परिषद् बैठकले उच्च अदालतका ४ र कानून व्यवसायीबाट २ जनालाई न्यायाधीशमा सिफारिस गर्दा उच्चका एकमात्र मुख्य न्यायाधीश नृपध्वज निरौला भने छुटेका छन् ।

यद्यपि न्याय परिषद्का एक सदस्यले भने यसअघि मिचिएको बरियता सच्याउँदा निरौला छुटेर टेकप्रसादलाई न्याय भएको बताएका छन् । टेकप्रसाद न्याय सेवामा निरौलाभन्दा सिनियर थिए ।

तर, उनी कानून समूहमा आएर सचिव भइसकेपछि २०७३ मा उच्चको न्यायाधीश नियुक्त भए । निरौला भने मुख्य रजिष्टार भएर उनीभन्दा माथि पुगेका थिए ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि ढुंगाना प्रधानन्यायाधीशको रोलक्रममा रहनेछन् । अहिलको वरियता तलमाथि नहुँदा उनी नहकुल सुवेदीपछि सर्वोच्चको प्रधानन्यायाधीश बन्नेछन् ।

सुवेदी २०९३ साल असारमा प्रधानन्यायाधीशबाट उमेरका कारण अवकाश हुनेछन् । त्यसपछि ढुंगाना ६ महिनाका लागि प्रधानन्यायाधीश हुनेछन् ।

न्याय सेवाबाट करिअर थालेका ढुंगाना सहसचिव हुने बेला कानून समूहमा गएका थिए । उनी त्यसपछि संसद सचिवालयमा कार्यरत रहे ।

सचिव बढुवापछि राष्ट्रपति कार्यालय र कानून मन्त्रालयमा काम गरेका ढुंगानालाई २०७३ मा उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो । न्याय परिषद्ले संशोधन गरेको पछिल्लो मापदण्डले उनलाई सर्वोच्चको न्यायाधीश सिफारिस गर्न सघाएको हो । संवैधानिक कानूनका ज्ञाता मानिने ढुंगाना न्यायिक क्षमता भएका न्यायाधीश हुन् ।

सर्वोच्चको अहिलेको रोलक्रमअनुसार विश्वम्भर श्रेष्ठपछि प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश हुनेछन् । राउतपछि क्रमशः सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी प्रधानन्यायाधीशको रोलक्रममा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *