काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दतसँगै राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास जनाएकी छन् ।
छठका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पछिल्लो समय यो पर्व तराई-मधेसमात्र नभई काठमाडौं उपत्यका, पहाडी तथा हिमाली जिल्लामा उत्साहपूर्वक मनाउने गरिएको स्मरण गरेकी छन् । यसले विविध भौगोलिक क्षेत्र, भाषाभाषी, जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सकिने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
‘प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस्’, शुभकामना सन्देशमार्फत उनको कामना छ ।

Leave a Reply