रुपन्देही । ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (वान) ले लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सन्देशमूलक सूचना, विज्ञापन तथा कार्यक्रमहरु सम्पूर्ण रेडियोहरुमा विनाभेदभाव, सामानुपातिक तथा वैज्ञानिक ढंगले वितरण गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको हो ।
वानका लुम्बिनी प्रदेश संयोजक युगराज वस्यालसहितको टोलीले सामाजिक विकास मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर ज्ञवालीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले यहि मिति २०८० कार्तिक १३ गते प्रकाशन गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नियम संगत सञ्चालित प्रदेशभरका सबै एफएम रेडियोहरुलाई समेट्ने गरी सामानरुपमा व्यावहार गर्नुपर्ने माग राखिएको छ ।
सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सूचनामा केही वर्गका रेडियोलाई मात्र समेट्ने गरी सूचना निकालेको र प्रदेशभर सञ्चालित स्वातन्त्र रेडियोको पहुँचलाई निषेध गरिएको प्रति दुख व्यक्त गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको वान प्रदेश संयोजक युगराज वस्यालले बताए । भेदभावपूर्ण व्यवहारका कारण मन्त्रालय संचारमैत्री भएको प्रत्याभुत गर्न नसकिएको भन्दै देशभरका स्वतन्त्र एफएम रेडियो तथा संचारमाध्यमलाई उपेक्षा नगर्न उनले आग्रह गरेका छन् ।
सूचना पाउने आम नागरिकको हकलाई कुन्ठित हुनेगरि निश्चित वर्गका रेडियोलाई मात्र विज्ञापन दिने गरी प्रस्ताव पेश गर्न भन्नु गलत भएको भन्दै यसमा सबै रेडियोको सहभागिता हुने गरी विनाभेदभाव सबै नियम संगत रहेका प्रदेशभरका रेडियोले प्रस्ताव पेश गर्न पाउनु पर्ने गरि सूचना निकाल्नु पर्ने संगठनको माग रहेको छ ।
मन्त्रालयले सन्देशमूलक सूचना तथा विज्ञापन प्रसारण कार्यक्रमका लागि यहि मिति २०८० कार्तिक १३ गते निकालेको सूचनामा ५०० वाट माथिका सामुदायिक रेडियो सूचिकरण गर्न अह्वान गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर ज्ञवालीले वानले बुझाएको ज्ञापन पत्र जायज भएको बताए । लुम्बिनी प्रदेशको समग्र विकासका लागि आफुहरु संचार माध्यमसंग सहकार्य गरी काम गर्ने प्रतिवद्धता उनले प्रकाशित सूचना सच्चाउने आश्वासन दिए ।

Leave a Reply