प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको पत्र- आयात/निर्यात ठप्प छ, क्वारेण्टीन सुचारु होस्

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र यथाशीघ्र सञ्चालनका लागि अपिल गरेका छन् । प्रधानमन्त्री दाहाललाई सोमवार पत्र पठाउँदै मुख्यमन्त्री शाहले यस्तो अपिल गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको मुख्य नाकाका रुपमा चिनिने धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र अहिले बन्द गरिएको छ ।

संघीय सरकार कृषि मन्त्रालयले साउन २८ देखि प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र अचानक बन्द गरिदिए पछि धनगढी नाकाबाट धान, गहुँ, मकै, फलफुल, पशुपन्छी तथा दुग्धजन्य वस्तुहरूको आयात– निर्यात ठप्प भएको छ । मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहाललाई पठाएको ज्ञापन पत्रमा भनिएको छ, ‘यो प्रदेशमा ती कच्चा पदार्थमा निर्भर अधिकांश उद्योगहरू बन्द भएका छन् भने थप खाद्य उद्योग बन्द हुने अवस्थामा छन् ।’

मुख्यमन्त्री शाहले प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र सुरु गर्न पटक पटक ताकेता गर्दा पनि सुरु हुन नसकेको गुनासो पोखेका छन् । मुख्यमन्त्री शाहले प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र बन्द हुँदा प्रदेशका कृषि तथा खाद्यमा आधारित उद्योगहरू प्रभावित भएको र कृषिजन्य बस्तुसँगै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुँदा आमजनतामा त्यसको प्रत्यक्ष असर परेको प्रधानमन्त्री दाहाललाई जानकारी गराएका छन् ।

उनले प्लान्ट क्वारेण्टीन बन्द हुँदा कैलाली भन्सारको राजस्व असुलीमा भारी गिरावट आएको उल्लेख गर्दै भनेका छन्, ‘यी सबै तथ्यहरूलाई मध्यनजर गर्दै यथाशीघ्र कैलाली भन्सार कार्यालयमा स्थायी रुपमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रको व्यवस्था गर्न सम्माननीय प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *