भूकम्प अपडेट : उपचारका लागि लैजाँदै गर्दा एकको मृत्यु, दुईको अवस्था गम्भीर

रुपन्देही । जाजरकोटको भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ ।

भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ ।
अस्पतालमा रुकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका ३२ जना घाइतेको भइरहेको र आउने क्रम जारी रहेको श्रेष्ठले बताए।

बाँकेमा अहिलेसम्म ३२ जना घाइते उपचारका लागि आएका छन् । ती मध्ये भेरीमा ३१, कोहलपुरमा १ जनालाई राखिएको छ । उनीहरू मध्ये केहीलाई हेलिकप्टर र केहीलाई एम्बुलेन्समा ल्याइएको हो । हेलिकप्टरमा ल्याइएका एक घाइतेको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैबीच जाजरकोट तथा रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएकाले थप खोज तथा उद्धार, उपचार, राहतका लागि सबैलाई अनुरोध गर्ने निर्णय भएको अस्पतालका लागि सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

यसका साथै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णयसमेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाकोतर्फबाट तत्काल राहतस्वरुप चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झुललगायत एक सय जना परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टिम परिचालन गरिने बताए।

कोहलपुर नगरपालिकाकोतर्फबाट तत्काल राहतस्वरुप रु दुई लाख, राप्ती सोनारी गाउँपालिकाकोतर्फबाट रु एक लाख बराबरको औषधि सामग्री र रु ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाउँपालिकाकोतर्फवाट रु तीन लाख बराबरको औषधि सहयोग गनेसमेत निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र रुकुम पश्चिममा छ सय थान कम्मल, त्रिपाल र पिफर्म उपलब्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेकोतर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलब्ध गराइने ।

केमिकल एण्ड मेडिकल एशोसियसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराउने निर्णय गरेको भएको छ । नेपालगञ्ज ग्रीनसिटीकातर्फबाट २५ बोरा चामल, चिउरा दुई सय केजी, ४० पेटी चाउचाउ र बाँके युनेस्को क्लबबाट भेरी अस्पतालका घाइते बिरामीका लागि अञ्जली माता रसोइमार्फत ८० जनालाई निःशुल्करुपमा खाना सहयोग गर्ने बताइएको छ ।

यसैबीच घाइतेहरुलाईलाई आवश्यक रगत अभाव हुन नदिन आकस्मिक रक्तदान गरिएको छ । रेडक्रस सोसाइटीको संयोजनमा गरिएको रक्तदानमा ८० प्वाइनट रगत संकलन भएको बाँके रेडक्रसका मन्त्री अजिज अहमद सिद्धिकीले जनाएका छन् । रगत मौज्जाद रहेपनि अभाव हुन नदिन पूर्व तयारी गरिएको उनले जनाएका छन् ।

गम्भीर घाइतेहरुको उपचारका लागि यहाँको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उनका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालमा एक सय बढी बेड तयारी अवस्थामा रहेको र प्रयाप्त चिकित्सक, नर्सिङ्ग स्टाप र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको छ ।

घाइते तथा घाइते आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई समेत खटिइएको प्रजिअ पाखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *