उमेर कीर्ते गर्ने जर्नेलको बचाउमा जंगी अड्डाको विज्ञप्ति, पदोन्नति रोक्न उजुरीकर्ता अदालत जाने

काठमाडौं । नेपाली सेनाले उमेर घटाएर बनाएको नागरिकताका आधारमा जागिर खाई प्रधान सेनापति बन्ने लाइनमा उभिन लागेका उपरथी ताराध्वज पाण्डेको बचाउमा विज्ञप्ति निकालेको छ ।

पाण्डेले उमेर कीर्ते गरेको प्रमाणसहित नेपाल प्रेसमा समाचार आएपछि त्यसको छानबिन गर्नुको साटो सैनिक मुख्यालयबाट पाण्डेको बचाउमा विज्ञप्ति आएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले रथी दर्जामा पदोन्नति प्रक्रियाबारे भ्रमपूर्ण सामग्री प्रसारण भएको भन्दै त्यस्ता समाचारलाई खेदजनक भनेको छ । वक्तव्यमा पाण्डेको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायहरूबाट यकिन भइसकेको दाबी गरेको छ ।

जबकी यस्तै विवादमा यसअघि धेरै उपरथी शैक्षिक प्रमाणपत्रको उमेरका आधारमा अवकाश भएका थिए । सेनाले संस्थाको विधिसम्म प्रक्रियालाई विवादित तुल्याउने आशयले भएका टिकाटिप्पणीमा सत्यता नरहेको दाबी गरेको छ ।

यो पनि पढ्नुहोस् : ‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी 

सेनापति प्रभुराम शर्मा राजनीतिक दबाबमा परेको भन्नेमा पनि सत्यता नरहेको वक्तव्यमा उल्लेख छ । रथी बढुवामा सिफारिस भएका ताराध्वज पाण्डेको उमेर कीर्ते सम्बन्धी उजुरीमा परिचय लुकाइएको भन्दै सेनाले आपत्ति जनाएको हो ।

उजुरीको छानबिन नगरी उल्टै उजुरीकर्ताको परिचय लुकाइएको भनेर पाण्डेको पक्षमा मुख्यालय नै खडा भएपछि यो प्रकरण अब अदालत र संसदीय समितिमा जाने भएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले रथी बढुवाको सन्दर्भमा आएका विवादबारे आफू जानकार रहे पनि समितिमा औपचारिकरूपमा उजुरी आएकोबारे बिदा भएकाले थाहा नभएको बताए ।

उमेर ढाँटेर जागिर खाएका पाण्डेको पदोन्नति सिफारिस रोक्न माग गर्दै अदालत खुल्नासाथ रिट दायर हुने भएको छ ।

Comments

One response to “उमेर कीर्ते गर्ने जर्नेलको बचाउमा जंगी अड्डाको विज्ञप्ति, पदोन्नति रोक्न उजुरीकर्ता अदालत जाने”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    कांग्रेस माओवादीहरू अपराधी प्रबृत्ति परिचालित हुन कि के हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *