सधैंको रहर लाग्दो
काठमाडौंमा
अहिले शान्ति छाएको छ
सिङ्गो शहर
मौन बसेको छ
हरेक वर्षझैं
यो वर्ष पनि
दशैंमा,
दुलही अन्माएको घरजस्तै
भएको छ ।
अहिले खुल्ला आकाशले बाटो होइन
बाटोले आकाशलाई हेरिरहेको छ,
यहाँ गुड्ने गाडी कम
उडेका चङ्गा र चराहरु बढी
देखिन थालेका छन् ।
सधैं भरिभराउ रहने
बसन्तपुर, भक्तपुर, पाटनका
चिया पसलहरुका आफ्नै
भनाइहरु छन् ।
कुकुरले भरिएका यी चोकहरुका पनि
आफ्नै तर्कहरु छन् ।
घरै पिच्चछे बत्ती निभेका
कोठाहरुका पनि
आफ्नै कथाहरू छन् ।
उता भने,
आफू वर्षभरी रित्तिदा
छप्क्क भरिएको काठमाडौं देखेर
ईर्ष्या गर्ने ती गाउँहरुलाई
मस्तै दशैं लागेको छ
गाउँका धेरै चोकहरुमा
लिङ्गे पिङ गाडिएका छन्
जिल्लाहरुमा
पालिका स्तरीय खेलकुद उमंग
छाएको छ ।
चौतारीमा फेरि
उत्तिकै मानिसहरु जम्मा भएका छन्
खेतका कान्लादेखि
भिरपाखा,
खेतबालीदेखि चिसो घारी
र छोराछोरी फर्कि आउने
दिन गन्दै बसेका
तमाम बुवाआमाका ती चाउरी परेका गाला
हर्षले तन्किएका छन् ।
यता सञ्चो–बिसन्चो सोध्न
समय नभएको
व्यस्त काठमाडौं शहर,
दशैंकै मुखमा रित्तिएको छ
फुर्सदिलो भएको छ
र एक पटक फेरि
भरिएका गाउँलाई देखेर
लोभिएको छ ।
आफूलाई व्यस्त राख्ने पाहुनालाई
सम्झेर मन अमिलो बनाएको छ।
हो यस्तै काठमाडौं
शान्त बनेको छ
मौन बसेको छ ।
तर यी मौनताका पनि
आफ्नै हल्लाहरु छन्
यी हल्लाहरुले आफूलाई छोडेर
गएका पाहुनालाई
काठमाडौंले दशैंको
शुभकामना दिरहेको छ ।

Leave a Reply