रुपन्देही । रूपन्देही जिल्लालाई कर्मथलो बनाई २०४६ सम्म कम्युनिष्ट आन्दोलनमा क्रियाशील भएका अग्रजहरू बिहीबार जम्मा भएर बिगतका संघर्षहरुलाई मन फुकाएर मन्थन गरे । केही वर्षदेखि सुरु भएको यो कार्यक्रम दशैं अगाडि पुनर्मिलन तथा शुभकामना आदानप्रदान भनेर उनीहरु यसरी जमघट भएर आफ्नो इतिहास, पार्टीमा गरेको लगानीका विषयमा छलफल चलाउन थालेका छन् ।
एमालेका अग्रज नेता नेत्र पन्थीले पहिले ३० सालसम्म, पछि ३६ सालसम्म र अहिले ४६ सम्मको कम्युनिष्ट इतिहासमा काम गरेकाहरुको नियमित जमघट भएको बताए ।
‘सहभागीहरुले पंचायतसम्मको अवस्थामा कसरी काम भयो, कस्ता दुःख पाइयो, कसरी काम भयो ? त्यही छलफल गर्ने पुर्नमिलन कार्यक्रम थालिएको हो । पर्वमा त्यही स्मरण गर्न यो थालनी गरिएको हो । ७० सालमा देवेन्द्र घिमिरेको संयोजनमा गरेपछि अहिलेसम्म नियमित चलेको छ’ पन्थीले भने ।
तिलोत्तमाको शंकरनगर बनबाटिकामा रहेको पुष्पलाल स्मृति हलमा बिहीबार पञ्चायतकालमा कम्युनिष्ट पार्टीमा संगठित भई विभिन्न कमिटी तथा जनसंगठनहरू नेतृत्व गर्नेदेखि कृयाशील रहेका ५५ जना अग्रजहरू सहभागी रहेका थिए । पन्थीका अनुसार त्यो आन्दोलनमा रहेका अझै धेरै जना समेट्न बाँकी रहेको र समेटिने अभियानमा रहेको नेता पन्थीले जनाए ।
भेलामा सबै सहभागीहरूले आफ्नो वर्तमान अवस्थासहित सहभागी कवि तथा साहित्यकारहरूवाट वर्तमान अवस्थाको चित्रण गर्दै कविता, लघु कथा महत्वपूर्ण भनाइहरू राखेका थिए । त्यसैगरी भेलामा इतिबृत २ प्रकाशनका बारेमा प्रकाशन समितिको तर्फबाट बलबहादुर आचार्यले हालसम्म भए गरेका कामहरूको जानकारी गराउँदै पुस्तकको रूपरेखा तथा सम्पादन भएका केही सामग्रीहरूको बारेमा जानकारी गराए भने रूपन्देही कम्युनिष्ट आन्दोलनका योद्वाहरूको फोटो तथा कामको विवरण संकलन काम यस वर्षबाट शुरूवात गर्ने जानकारी गराइयो ।
भेलामा उपस्थित सबैजसो सहभागीहरूले नेपालको कम्युनिष्ट आन्दोलनमा थुप्रै विकृतिहरू देखिएको र देशको अवस्थासमेत नाजुक बन्दै गएका कारण कम्युनिष्ट आन्दोलनका नेतृत्वहरू गम्भीर बन्न र आन्दोलनलाई ठिक दिशामा अगाडि बढाउन नसकेमा देश दुर्घटना पर्नसक्ने विचार तथा सुझावहरू राखेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. मुरारि पराजुली तथा कविहरू लक्ष्मण ज्ञवाली, दुर्गाप्रसाद सापकोटा र शिवपुजन चौधरीले आफ्ना रचना प्रस्तुती गरेका थिए ।

भेलामा संविधान सभा सदस्य नेत्र पन्थीले रुपन्देहीको कम्युनिष्ट इतिहास सबैको पहलमा जोगाउनुपर्ने बताए । उनले अहिलेको समितिबाट आशातित रूपमा काम नभएकोप्रति ध्यानाकर्षण गराउँदै आगामी वर्ष कम्तिमा पनि पुस्तकको पहिलो ड्राफ्फ भेलामा प्रस्तुतिका लागि सुझाव दिए ।
कार्यक्रममा सहभागीहरू मध्येका ८३ वर्षीय जेष्ठ अग्रज लालमणि मरासिनीले आफ्नो विगतको संघर्षबारे जानकारी गराएका थिए । भेलामा नेकपा एमाले केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणि गौतम, नेकपा एमाले केन्द्रीय सदस्य गोमादेवीआचार्य, नेकपा एमाले सल्लाकार समिति सदस्य तथा राष्टिय सभाका सदस्य गोपाल भट्टराई, नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले धारणा राखेका थिए ।

भेलामा प्रकाशन समितिका सदस्यहरु कबिराम अर्याल, बलबहादुर आचार्यले विषयवस्तुबारे प्रकाश पारेका थिए भने भेलाको अध्यक्षता प्रकाशन समितिकै सदस्य बाबुराम भट्टराईले गरेका थिए ।

Leave a Reply