प्रधानमन्त्री र विपक्षी नेतालाई संसदमा बोल्न असीमित समय दिने प्रचलनबारे सभामुख के भन्छन् ?

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रधानमन्त्री, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले बोल्ने समयको सीमा तोक्ने कि नतोक्नेबारे छलफल सुरू भएको भन्दै कतिपय प्रचलन परिवर्तन गर्न सकिने बताएका छन् ।

दसैँको अवसरमा सम्पादक तथा संसदीय मामिलाका पत्रकारहरूसँग छलफलका क्रममा सभामुख घिमिरेले प्रधानमन्त्री र विपक्षी दलका नेताले चाहेको बेलामा बोल्न दिने र चाहेजति बोल्न दिने प्रचलन रहेको बताए ।

पत्रकारलाई जवाफ दिँदै घिमिरेले भने, ‘यहाँ पनि केही साथीहरूले यो प्रश्न उठाउनुभयो । संसदभित्र पनि केही माननीयले यो विषय उठाउनुभएको छ । तर, हाम्रो प्रचलन भनेको प्रधानमन्त्री र विपक्षी दलको नेताले चाहेको बेला बोल्न दिने र चाहेजति बोल्न दिने भन्ने छ । यसलाई परिवर्तन गर्ने हो भने पनि छलफल हुनसक्छ ।’

सभामुख घिमिरेले पछिल्लो समय सांसदहरूमा अध्ययनको कमी रहेको, भाइरल बन्ने मोह बढेको तथा आत्मविश्वासको कमी देखिएको भन्ने टिप्पणी आइरहेको भन्दै यसमा पनि आफू सचेत रहेको बताए । उनले संसदको प्रभावकारिताका लागि प्रेसको पनि महत्वपूर्ण भूमिका रहनुपर्नेमा मिडियाले त्यसअनुसार काम गर्न नसकेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *