कांग्रेस महासमिति सदस्य चयनमा धाँधली भएको भन्दै दुजाङ शेर्पासहितले दिए उजुरी

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य चयनमा विवाद भएपछि नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पासहित ५ जना महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् ।

महाधिवेशनका बेला महासमिति सदस्य चयन नभएकाले आसन्न महासमिति बैठकअघि क्षेत्रीय समितिले सदस्य चयन टुंग्याउने क्रममा विवाद भएको हो । असोज २९ गतेको भेलाले महाधिवेशन प्रतिनिधिहरूबाट सर्वसम्मत रुपमा महासमिति सदस्य चयन भएको भन्दै क्षेत्रीय सभापति सन्तोष चालिसेले केन्द्रीय कार्यालयमा नामावली पठाएका थिए ।

चालिसेले पठाएको नामावलीमा ३ नम्बर क्षेत्रीय समितिबाट सर्वसम्मतमा ११ जना महासमिति सदस्य चयन भएको उल्लेख छ । जसमा हरिबोल भण्डारी,छिरिङ दोर्जे लामा,डम्बर लामा, देवसुन्दर बज्राचार्य,रामराज थापा, लालबहादुर लामा,रमेश अर्याल,विष्णुदेवी पुडासैनी,गीता सिम्खडा,लेखकुमारी पुडासैनी र विक्रम सुनार छन् ।

तर उक्त चयनप्रति असहमति जनाउँदै क्षेत्रीय सभापतिले पार्टी कमिटीलाई प्राइभेट लिमिटेडसरह सन्चालन गरेको आरोप लगाएका छन् । शेर्पासहित परशुराम पोखरेल, दुर्गाप्रसाद बराल, जयराज भण्डारी र सुशिला बरालले दिएको उजुरीमा सो निर्णय बदर गर्न माग गरिएको छ ।

अन्य प्रयोजनका लागि आयोजना गरेको क्षेत्रीय भेलाको माइन्युटनको पाना च्यातेर त्यसैमा महासमिति सदस्यहरुको निर्वाचन सर्वसम्मत भएको भनी पार्टीमा बुझाइएको आरोप उनीहरूको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *