कैलाली । इजरायलमा हमास विद्रोही समूहले गरेको सांघातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारैजना विद्यार्थीहरूलाई कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्याएका छन् ।
बिहीबार नेपाल एयरलाइन्स मार्फत काठमाडौँ पुगेका २५३ विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार घर पुगेका हुन ।
कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती र वडा नं. ४ का रमेश कार्की र पदम धामीलाई नगरप्रमुख ओझाले आफूसँगै श्री एयरलाइन्सको विमान मार्फत घर ल्याएका हुन ।
बिहीबार बिहान नगरप्रमुख ओझाले चारै जना विद्यार्थीहरूलाई त्रिभुवन विमानस्थल स्वागत गर्दै उतैबाट आफ्नो निवासमा लगेका थिए । शुक्रवार दिनभरि आफूसँगै विद्यार्थी राखेका ओझाले शनिवार बेलुकी धनगढी विमानस्थल पुगेका विद्यार्थीहरूलाई नगरपालिकाकै गाडीमा सबैलाई घरसम्मै पुर्याएका हुन ।
धनगढीमा विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै नगरप्रमुख ओझाले इजरायलमा हमास विद्रोही समूहको आक्रमणमा परी १० विद्यार्थीले ज्यान गुमाएको र दर्जनौँ घाइते भएको खबर सुन्दा आफू विक्षिप्त भएको बताए ।
उनले कृष्णपुरका पनि ४ जना सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्राम अन्तर्गत इजरायल पुगेका खबर सुनेदेखि आफू नियमित उनीहरूसँग भिडियो कलमा जोडिनै रहेको थिए ,चिन्ता नमान्न र आत्मबल बढाउन भनेर बारम्बार भनिरहेको थिए नभन्दै बिहीबार नेपाल एयरलाइन्स मार्फत त्रिभुवन विमानस्थल आफ्नो नगरपालिकाका विद्यार्थीहरू देख्दा भावुक भएको बताए ।

उनले नेपाल सरकार र विशेष गरी परराष्ट्र मन्त्री एनपी साउँदको सक्रियताले उद्धार गर्न सम्भव भएको भन्दै नेपाल सरकार र परराष्ट्र मन्त्रीलाई धन्यवाद समेत दिए ।
नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्ने बारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केहि न केही पहल गर्ने बताए ।
मृत्युको मुखैबाट बाँच्न सफल भएर धनगढी विमानस्थलमा पुगेका कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती र वडा नं ४ का रमेश कार्की र पदम धामी बिछट्टै खुशी थिए ।
विमानस्थलमा पत्रकारहरूसँग नरेश सिंह भण्डारी (निथि) ले भने बाँच्ने आशा मारिसकेका थियौँ खै कसरी जोगियौँ र आज घरसम्म पुग्यौँ यो सपना जस्तै लागिरहेको छ ।
प्रकाश ,रमेश र पदमको पनि एउटै भनाइ थियो ‘हामीले आफ्नै देशको भूमि टेक्नु रैछ यो दोस्रो जुनी हो अब यतै केही गर्छौँ । राज्यले हामीलाई केही न केही सहयोग गरे हामी यतै नमुनाको काम गरेर देखाउँछौँ ।’
उनीहरूले आफ्नो ज्यान दाउमा राखेर धेरैलाई बचाएका आफ्नो साथी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहँदा भने अत्यन्तै दुख लागेको भन्दै सरकारलाई विपिनको खोजी कार्य अगाडि बढाइदिन र मृतकहरूको लास नेपाल छिटोभन्दा छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरे ।

Leave a Reply