हट्यो नागढुंगा सुरुङमार्ग समस्या

काठमाडौं । स्थानीय समस्याले केही समय अवरुद्ध बनेको नागढुंगा नौबिसे सुरुङ मार्गको निर्माण कार्य पुनः शुरु गरिएको छ ।

सुरुङ मार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको थियो भने ९ वटा घरहरू चर्किएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खाडल परेको ठाउँको विज्ञद्वारा अनुसन्धान गराउने र चर्किएका घरहरूलाई अस्थायी स्थानान्तर गर्ने निर्णय गरेपछि अवरुद्ध सुरुङ मार्गको काम पुनः सञ्चालनमा आएको निजी सचिव रामहरि शर्माले बताएका छन् ।

‘आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्रीज्यूले तत्काल सर्वपक्षीय बैठक बोलाउनुभएको थियो’ निजी सचिव शर्माले भने, ‘पीडित पक्ष, त्यसक्षेत्रका सङ्घीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहवरमा निर्णय भएपछि आयोजनाको काम शुरु भएको छ ।’

सुरुङ मार्ग निर्माणका क्रममा भएका समस्याहरूलाई समाधान गर्न सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सुरुङ मार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो ? कति घरहरू चर्केका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितहरूलाई स्थानान्तरणको व्यवस्था गर्न समिति बनेको हो ।

आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरेर तत्काल समस्या समाधान गर्ने निर्णय भएको शर्माले बताए ।

अवरोध हटेपछि मन्त्री ज्वालाले करिब एक महिनाभित्र सुरुङ मार्गको मुख्य टनेल ब्रेक थ्रू हुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिएका छन् । सहायक टनेलको ब्रुेक थ्रु भइसकेको छ भने मुख्य टनेलको काम अन्तिम चरणमा छ । करिब २ सय मिटर मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *