रुपन्देही । समाजवादी मोर्चा नेपाल रुपन्देहीको शुक्रबार बुटवलमा सम्पन्न प्रथम भेलाले नेकपाका सरद सीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।
मोर्चाको सदस्यहरुमा नेकपाका वीरेन्द्र सी र उषा सी, नेकपा माओवादी केन्द्रका निर्मल जीसी, ऋज्जु श्रेष्ठ र सन्तकुमार यादव, एकीकृत समाजवादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल तथा जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेका छन् ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं समाजवादी मोर्चा प्रदेश सदस्य सुदर्शन बरालको प्रमुख आतिथ्यमा भएको भेलाले पालिकास्तरसम्म समिति निर्माण गरी मोर्चाका नीति, योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै मोर्चाले यही असोज २९ गते दशैंतिहारलाई मध्यनजर गर्दै कालोबजारी एवं महँगी नियन्त्रण गर्ने ध्यानाकर्षणसम्बन्धी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने निर्णय गरेको छ । त्यस्तै स्थानीयस्तरमा सबै सामाजिक संघसंस्थासँग सहकार्य गरेर कार्यक्रम गर्ने निर्णय गरेको नेकपा रुपन्देही सेक्रेटेरी वीरेन्द्र सीले जानकारी दिए ।

Leave a Reply